अष्टमीको साँझ। गाउँघर दसैंको माहोलले मात्तिसकेको बेला। टाढा टाढाबाट साथीभाइ आ-आफ्ना फण्डा छाडेर भेला भई मीठा मीठा गफ चुट्दै तास खेल्ने मौसम।
हरेक वर्ष हाम्रो घरलाई चाहिने मासुको जोहो मिल्ने पल्लो गाउँको फुँयाल दाइ र विष्ट दाइको घरको खसी ढलिसकेको थियो होला सायद। अझ भनौं भुटनको स्वादमा चिरिप्प पार्दै मज्जा लिँदै थिए होलान् मेरा साथीहरू। दसैंमा उदयपुर गइएन भने यसै यसै न्यास्रो लाग्छ। उत्साहका साथ गाउँमा पर्व मनाइन्छ, त्यो उत्साह सहरमा कहाँ? सायद सहरीया साथीहरूलाई पनि गाउँ जान पाए हुन्थ्यो जस्तो लाग्ला।
तर दसैंको समय पारेर म र मेरो परिवार (आमा, बुवा, श्रीमती, छोरा र बहिनी) धर्मकर्म गर्न हिँडेका थियौं। त्यो साँझ हामी बनारस दर्शन सकेर रातको १२ बजे हरिद्धारका लागि हिँड्ने तयारीमा थियौं।
बनारस- धार्मिक सहर। जहाँ पवित्र गंगा बग्छिन्। देवी देउता बस्छन्, र लाखौं मानिसहरूलाई वर्षेनी आउन मोहित गर्छन्। मन्दिर र बेलुकाको आरतीको रमनियको के कुरा। शब्दले बयान गर्न सकिन्न। लाग्छ कुनै देवलोकमै पुगे जस्तो।