निर्वाचन आचारसहिंता विपरित कांग्रेसी जनप्रतिनिधिले चलाएका सवारी नियन्त्रणमा

प्रहरीले निर्वाचन आचारसहिंता उल्लंघन गरि सरकारी गाडीको दुरूपयोग गरेको आरोपमा नेपाली कांग्रेसका जनप्रतिनिधिको सवारी साधन नियन्त्रणमा लिएको छ।

उपनिर्वाचनका लागि पर्साको सखुवा प्रसौनी गाउँपालिका, ५ महुवनमा बुधबार कांग्रेस पार्टीको वडास्तरीय चुनावी आमसभा सहभागी हुन पुगेका विभिन्न पालिकाका वडा अध्यक्ष, सदस्य तथा उप–प्रमुखको १ स्कुटीसहित ५ वटा मोटरसाकइल नियन्त्रणमा लिएको महुवन प्रहरी चौकीले बिएल नेपाली सेवालाई जानकारी दिएको छ।

चुनावी आमसभामा व्यस्त रहेका बेला प्रहरीले बुधबार साँझ ५ बजेदेखि कांग्रेसी जनप्रतिनिधिले चलाएका ना १ ब २७४८ नं. को स्कुटी, ना १ ब ३०५७, ना १ ब ३५८७, ना १ ब ३१४६, ना १ ब २७५० नं. को सरकारी पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको सवारी साधनलाई प्रकृया पुर्‍याएर छोडिने प्रहरीले जनाएको छ। तर, सवारी चालक तथा जनप्रतिनिधिको नाम भने प्रहरीले खुलाउन चाहेन।

कांग्रेस पार्टीको वडा स्तरीय चुनावी आमसभामा केन्द्रीय सदस्य रमेश रिजाल, पार्टी केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, पर्सा सभापति अजय कुमार द्विवेदी, नेता चन्द्रकिशोर प्रसाद चौधरी, जनार्दनसिह क्षेत्री, विरेन्द्र नेपाली लगायतका नेता सहभागी रहेकाले नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सभागिता थियो।

प्रकाशित मिति: : 2019-11-28 10:52:14

प्रतिकृया दिनुहोस्