यादवले भने- प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर कानुन मन्त्रालय पठाउनु भयो

बिएल

उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।

यादव सोमबार दिउँसो मन्त्रालय पुगेका हुन्। उनलाई कर्मचारीले स्वागत गरेका थिए।

कानुन मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने उनले बताए।मन्त्रालय हेरफेर गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई भएकोले मन्त्रीसँग खासै परामर्श गरिराख्नु नपर्ने उनले बताए।

‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पठाउनुभएको हुनुपर्छ,’यादवले भने,‘सरकार छाड्ने निर्णयमा पार्टी पुगेको छैन। अहिले किन छाड्ने सरकाररु’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिम्मेवारी हेरफेर गरी कानुन मन्त्रालय पुर्‍याएका थिए।उनले सम्हाल्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भानुभक्त ढकाल आएका छन् ।

मन्त्रिमण्डल पुनर्गठन गर्दा यादव भारतमा थिए।

आफूहरूसँग परामर्श नगरी प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै समाजवादी पार्टीभित्र सरकार छाड्न दवाव थियो। तर पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको थिएन। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा असहमत भएका बुँदाबारे सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छलफल गर्न समाजवादीले वार्ता समिति नै बनाएको छ।

तर स्मरण गर्नु पर्ने यो छ कि स्वास्थ्य मन्त्रालयमा रहेर पनि यादवले अनुभूत गर्न सक्ने गरी काम गर्न सकेको देखिएको थिएन उनी अधिकांश समय मन्त्रालयको काममा संलग्न हुनुको सट्टा विदेश भ्रमणमा व्यस्त रहेको आरोप लाग्दै आएको छ।

यस्तै यादवले सरकारको लगातार आलोचना गर्दै आएका छन्। यहि कारण प्रधानमन्त्री ओली र यादवबिच पछिल्लो महिनादेखि बोलचाल बन्द भएको अवस्था थियो। झण्डावाला सरकारी गाडीमा चढ्ने र त्यसबाट ओर्लने बित्तिकै सरकारकै आलोचना गर्ने भन्दै ओलीले यादवको आलोचना गरेका थिए। यस्तै गरिरहने भए सरकार छोड्न ओलीले यादवलाई भनेका थिए।

प्रकाशित मिति: : 2019-11-25 14:22:37

प्रतिकृया दिनुहोस्