कालापानीको भूमि फिर्ता माग्दै माईतीघरमा प्रदर्शन

भारतले आफ्नो देशको नक्शामा राखेको कालापानीको भूमि फिर्ता गराउने अभियानमा लागेका युवा केन्द्रीत स्वतन्त्र राष्ट्रिय अभियान नेपाल, मिसन नेपाललगायत संस्थाहरूले विरोध प्रदर्शन गरेका छन् ।

शनिबार माईतीघर मण्डलामा कालापानी फिर्ता हुनु पर्ने माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

युवा अभियान्ताले बाजागाजा बजाएर सरकारले अतिक्रमण गरिएको सिमानाका विषयमा केही गर्न नसकेको भन्दै चर्को नारा लगाएका थिए। उनीहरुले नेपालको कालापानी फिर्ता गर्नको लागि सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरेको बताए।

दैनिक विरोध गरिरहँदा पनि सरकारले यो आवाजलाई सुन्न नसकेको भन्दै उनीहरुले अब यो आन्दोलनलाई देशव्यापी गर्ने चेतावनी दिए।

भारतले कालापानीको नक्सा सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध हुँदै आएको छ।

प्रकाशित मिति: : 2019-11-23 18:38:08

प्रतिकृया दिनुहोस्