५ वर्ष भित्र निजगढ अन्तराष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउछौं: मन्त्री भट्टराई

फाइल तस्बिर

संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल आगामी ५ वर्ष भित्रमा बनिसक्ने बताएका छन्। विमानस्थललाई सरकारले उच्च प्राथमिकता राखेको भन्दै ५ वर्षमा प्रयोगमा ल्याउन मिल्ने गरि काम गर्ने बताए।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको चापलाई कम गर्न पनि प्रस्तावित विमानस्थल निर्माण गरिन लागेको बताए। उनले निजगढका साथै गौतम बुद्ध विमानस्थल पनि अबको ५ वर्षमा भित्रमा प्रयोगमा ल्याउने दाबी गरे ।

मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरेर पोखरा विमानस्थलको काम तिब्र गतिमा अगाडी बढेको समेत जानकारी दिए। '‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन अहिले पोखरा विमानस्थलको काम तिब्र गतिमा गरिरहेका छौं।' मन्त्री भट्टराईले भने,' सन् २०२० को अन्तयतीर प्रयोगमा आउने गरि काम गरिरहेका छौं।'

मन्त्री भट्टराईले मुलुकको भौगोलिक अवस्था जटिल रहेकाले विमानस्थलहरुको निर्माणको कामलाई सरकारले प्राथमिकता राख्ने गरेको पनि स्पष्ट पारे। केही ठूला नेता र सांसदहरुले विरोध गरे विमानस्थल बनाउनुको विकल्प नरहेको उनको भनाइ छ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको बताए।

नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न करिव ४० देशका पर्यटन मन्त्रीहरुलाई निमन्त्रणा गरिएको पनि उनले जानकारी दिए।

मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको बताए। सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सबैलाई उनले आह्वान गरे।

प्रकाशित मिति: : 2019-11-22 21:20:16

प्रतिकृया दिनुहोस्