पोखराको विकास र समृद्धिको खाका तयार छ: भट्टराई

बिएल

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराईले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकी छिन्।

पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१ मा आज आयोजित चुनावी घरदैलो कार्यक्रममा उनले अबको तीन वर्षको अवधिमा बाँकी योजना सफल बनाएरै छाड्ने उद्घोष गरिन्।

निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षीया जसोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशीर्वाद लिँदै शुभारम्भ भएको घरदैलो कार्यक्रम फेदीपाटन, अम्बोट हुँदै दबारमा पुगेर चुनावीसभामा परिणत भएको थियो।

यसैबीच निर्वाचन क्षेत्रका ११ वटै वडामा आज नेकपाले पदयात्रा निकाल्दैछ। महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका वडामा पदयात्रा निकालिन लागेको हो। पोखरा–८ मा पनि बिहानै महिलाले भट्टराईका पक्षमा पदयात्रा निकालेका छन्।

सिर्जनाचोकबाट शुरु भएको पदयात्रा जाल्पारोड, बगालेटाल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा अखिल नेपाल महिला सङ्घका निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टीभन्दा माथि उठेर नेत्री भट्टराईलाई जिताउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: : 2019-11-22 16:06:18

प्रतिकृया दिनुहोस्