जनताको सेवक बन्छु : भट्टराई

फाइल तस्बिर

कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूलढुङ्गा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावीसभामा उनले जनताको सुख दुःखसँगै रहने बताए। समाजका पिछडिएका वर्गलाई आर्थिकरुपमा सवल बनाउन सकेमात्र समृद्धि सम्भव हुने उनको भनाइ थियो।

स्व रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उनले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता आँैल्याइन्। राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गरे। उनले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफु राजनीतिमा अघि बढ्ने उल्लेख गरे।

सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहीनता, अनियमितता र भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने बताए। कास्की–२ मा पोखरा–४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडामा भूमिहिनको बसोबास रहेको नेकपा कास्कीका सदस्य ओम पौडेलले जानकारी दिए।

 

प्रकाशित मिति: : 2019-11-21 23:11:43

प्रतिकृया दिनुहोस्