भारत तस्करी हुँदै गर्दा मरिच बरामद, प्रहरीसँगै ‘लाइन’ मिलाएर हुन्छ तस्करी

मरिच तस्करी गर्दै गर्दा नेपाल–भारत सीमा क्षेत्र मोरङको जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले नियन्त्रणमा लिएका भारतीय नम्बर प्लेटका मोटरसाइकल।

मोरङको जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले बिहीबार भारतीय मोटरसाइकलमा राखेर भारत लग्दै गरेको अवस्थामा १६ बोरा मरिच बरामद गरेको छ।

बिहिबार बिहान १० बजे अढाई लाख मूल्य बराबरको चार सय २५ किलोग्राम मरिच बरामद भएको हो। उक्त मरिच डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ नम्बरको मोटरसाइकलमा राखेर भारततर्फ तस्करी गर्ने काम भइरहेको थियो। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा मरिच बरामद भएको बताए। मरिच तस्करीमा संलग्न भने प्रहरीलाई देखेपछि भागेको दाबी प्रहरीको छ।

बरामद भएको मरिच र नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारबाहीका लागि बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी एसपी अधिकारीले दिए । तेस्रो मुलुकबाट ल्याएर मरिच तस्करी हुने क्रम बढेर नियन्त्रण गर्न चुनौती पूर्ण हुन थालेपछि सीमावर्ती सबै नाकामा विशेष टोली खटाएर निगरानी बढाइएको उनको भनाइ छ।

नेपालमा भन्दा भारतमा मूल्य दोब्बर रहेका कारण तेस्रो मुलुकबाट आयात हुने कालो मरिच भारत तस्करी भइरहेको जनाएको छ। नेपालमा प्रति किलो मरिच चार सय ६० देखि पाँच सय रुपैयाँसम्म पर्छ । भारतमा प्रति किलो एक हजार रुपैयाँसम्म छ । तस्करहरुले भारत गएका नेपाली सवारी साधनमाथि त्यहाँका सुरक्षाकर्मीले कडाई गर्ने भएकाले भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा मरिच तस्करी गर्ने गरेको पाइएको छ।

सीमा क्षेत्रका बासिन्दाकाअनुसार मरिच तस्करीमा संलग्नले नेपाल–भारत सीमा क्षेत्रमा गोदाम नै बनाएका छन्। तेस्रो मुलुकबाट आयात गरिएको मरिच प्रक्रिया पुर्‍याएर सीमामा रहेको आफ्नो गोदाममा लैजाने र त्यहाँबाट भारत कटाउने गरिएको स्थानीयले बताए। एक सुरक्षा अधिकारीकाअनुसार तस्करीमा संलग्नले आफ्नो गोदामसम्म मरिच लैजाँदा भ्याट विल उनीहरुको साथमै हुने भएकाले पक्राउ पनि गर्न मिल्दैन। गोदाममा लगेर स्टक गर्दै राखेको मरिच अनुकूल समय मिलाए भारततर्फ तस्करी हुने गरेको उनले बताए।

तर सीमा क्षेत्रका बासिन्दा भने प्रहरीसँगै ‘लाइन’ मिलाएर मरिचको तस्करी हुने गरेको बताउँछन्। तारिगामाका रामलखन चौधरीले पटक–पटक ठूलो परिणाममा मरिच तस्करी भइरहेको सूचना दिँदा पनि नियन्त्रणका लागि प्रहरीले चासो नदिनुले यसको पुष्टि हुने बताए । तस्करबाट असुरक्षित हुने भएकाले सर्वसाधारण मात्रैले त्यसलाई रोक्न र विरोध गर्न सक्ने अवस्था नरहने उनको भनाइ छ । मरिच तस्करी गर्ने दुई-तीनवटा ठूलो गिरोहले प्रहरीका अधिकारीसँग ‘सेटिङ’ मिलाएर काम गरिरहेको चौधरीले बताए।

स्थानीय नरेश यादव प्रहरीका अधिकारीदेखि घुमुवासम्मलाई मिलाएर सीमा क्षेत्रबाट मरिच भारत जाने गरेको बताउँछन्। ‘हामी नियन्त्रण गरिरहेका छौं भनेर प्रहरी अधिकारीले भने पनि भित्रभित्रै तस्करसँग राम्रै ‘सेटिङ’ छ,’ उनले भने, ‘बिहीबार पनि स्थानीय बासिन्दाले धेरै विरोध गरेका कारण मात्रै तस्करीको मरिच नियन्त्रणमा लिन प्रहरी आइपुगेको हो।’ धेरै पहिलेदेखि मरिच भारत गइरहेको कुरा पटक–पटक खवर गरे पनि तस्करको सहयोगीको भूमिकामा प्रहरी देखिएको स्थानीय बासिन्दाको गुनासो छ। मरिच तस्करी हुने समयमा सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति नै शुन्य हुने भएकाले त्यो ‘सेटिङ’ हो भनेर बुझ्नु पर्ने उनीहरुले बताए।

स्थानीय बासिन्दाकाअनुसार केही समय अघि मरिच तस्करी गर्नका लागि नेपाल प्रहरीले धेरै सजिलो बनाइदिएको थियो। तर कुरा नमिलेपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीको ‘सेटिङ’मा हुन लागेको काम चैं रोक्ने प्रयास गरेको एक स्थानीयले बताए।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले तेस्रो मुलुकबाट आयात भएको मरिच भन्सार तिरेर पनि भारत लैजान नपाइने बताए। तेस्रो मुलुकबाट १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिरेर मरिच आयात हुने गरेको उनले बताए। आजसम्म प्रक्रिया पूरा गरेर भन्सार कार्यालयबाट मरिच भारततर्फ लगिएको कुनै पनि रेकर्ड नभएको जानकारी पौडेलले दिए।

सुरक्षा निकायले आवश्यक सहयोग नगर्दा र नेपालमा भन्दा भारतमा महँगो हुने भएकाले सीमा क्षेत्रबाट भारततर्फ हुने मरिच तस्करी नरोकिएको निस्कर्ष भन्सार कार्यालयले निकालेको छ। खुल्ला सीमा नाका र सुरक्षाकर्मीसँग हुने ‘सेटिङ’ नियन्त्रणको मुख्य चुनौती रहेको भन्सारले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-21 18:15:42

प्रतिकृया दिनुहोस्