प्रदेश १ः लागुऔषध र बलात्कारका कैदीबन्दी बढे

बिएल

प्रदेश १ का १४ जिल्लामा रहेका कारागारमा अन्य अपराधको तुलनामा लागुऔषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी धेरै रहेको पाइएको छ।

विभिन्न अपराधिक घटनाभन्दा बलात्कार (जवरजस्ती करणी), बलात्कार प्रयास( जवरजस्ती करणी उद्योग) र लागुऔषध कारोवार एवं ओसारपसारका अपराधका कैदीबन्दी ५३ प्रतिशत छन्। अन्य अपराधका ४७ प्रतिशत मात्रै कैदीबन्दी छन् । प्रदेश भरीका १४ वटा कारागारमा जम्मा ५ हजार १ सय ४८ कैदीबन्दी छन्। यी मध्ये बलात्कार सम्बन्धी र लागुऔषधका मात्रै २ हजार ७ सय ७४ कैदीबन्दी छन् ।

बलात्कार र बलात्कार प्रयास सम्बन्धीका मात्रै १ हजार ९ सय ३६ जना कैदीबन्दी छन्। लागुऔषधका ८ सय ३८ जना छन्। अन्य अपराधसँग जोडिएका २ हजार ३ सय ७४ जना कैदीबन्दी छन्। सुनसरीमा रहेको क्षेत्रीय स्तरको झुम्का कारागारमा १ हजार ७ सय ३७ कैदीबन्दी छन्। लागुऔषध र बलात्कार सम्बन्धीका मात्रै ९ सय ८७ जना छन्। झापा कारागारमा रहेका १ हजार १ सय ३३ मध्ये लागुऔषध र बलात्कार सम्बन्धीका ६ सय १० कैदीबन्दी छन्। इलाममा १ सय ७१ मध्ये ९४, पाँचथरमा १ सय ५५ मध्ये ५६, ताप्लेजुङमा १ सय ३१ मध्ये ४७ जना कैदीबन्दी लागुऔषध र बलात्कार सम्बन्धीका छन्।

मोरङ कारागारमा रहेका ९ सय ७ मध्ये ६ सय ७४ जना लागुऔषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी छन् । धनकुटामा रहेका ६४ मध्ये ३२, उदयपुरमा २ सय २ मध्ये ९८, खोटाङमा १ सय १३ मध्ये ३३, ओखलढुंगा कारागारमा रहेका ६८ मध्ये २१ जना लागुऔषध र बलात्कार सम्बन्धीका कैदीबन्दी छन् । भोजपुरमा १ सय १३ मध्ये ३६, संखुवासभामा १ सय १० मध्ये ११, तेह्रथुममा ८८ मध्ये ४९ र सोलुखुम्बु कारागारमा ७५ मध्ये २६ जना कैदीबन्दी बलात्कार सम्बन्धीका छन् ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले कारागारका कैदीबन्दीको संख्याले पछिल्लो समय बलात्कार र लागुऔषध सम्बन्धी अपराध धेरै भइरहेको पुष्टि हुने बताए। ‘कारागारमा सबै भन्दा बढी कुन अपराधिक घटनाका कैदीबन्दी बढी छन् भनेर अध्ययन गरिएको थियो,’ उनले भने, ‘समग्रमा अरुको तुलनामा लागुऔषध र बलात्कार सम्बन्धीमा सजाय तोकिएका र पुर्पक्षका लागि थुनामा परेका धेरै रहेछन्।’

डीआईजी ज्ञवालीले उर्जावान जनशक्ति विभिन्न खाले अपराधमा संलग्न रहेको तथ्याँकले पुष्टि गरेको बताए। ‘लागुऔषध र बलात्कारमा ३० वर्षसम्मकाहरुको संख्या बढी छ’ उनले भने, ‘अन्य अपराधिक घटनामा पनि यस्तै अवस्था छ।’ अपराधको पछिल्लो अवस्थाले मुलुकको उर्जावान जनशक्ति साथी–संगत, बेरोजगार, अशिक्षा, अभिभावकको बेवास्था, सही मार्गदर्शनको अभाव आदि कारणले अपराधतर्फ उन्मुख भइरहेको अध्ययनले देखाएको ज्ञवालीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जघन्य प्रकृतिका अपराधमा अशिक्षित र बेरोजगारहरु बढी संलग्न रहने गरेको पाइएको बताए । ‘लागुऔषधबाट आनन्द पाइन्छ भन्ने भ्रम युवा वर्गमा रहेको पाइयो,’ उनले भने, ‘जसका कारण युवा वर्ग यसको दलदलमा फसिरहेका छन् ।’ साथीभाईको संगत, अशिक्षा, चेतनाको कमी, पारिवारिक विचलन, सहज उपलब्धता, भारतसँगको खुल्ला सीमाना, बेरोजगार आदिका कारण मानिस लागुऔषधको कुलतमा फस्ने गरेको एसपी अधिकारीको भनाइ छ। भारतसँगको खुल्ला सीमाना लागुऔषध नियन्त्रणको मुख्य चुनौती रहेको बताउँदै उनले नियन्त्रणका लागि विशेष सक्रियता बढाइएको जानकारी दिए।

लागुऔषध र मदिरा सेवन तथा बढ्दो सामाजिक विचलन, घट्दो मानविय संवेदना आदि कारणले पनि बलात्कारका घटना धेरै भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ। ‘कानुनले १८ वर्षसम्मकालाई बालबालिका र २० वर्ष नपुगी बिहे गर्न पाइँदैन भनेको छ,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘तर धेरै घटना क्रममले मान्छे एउटा सम्बन्धमा रहने र त्यो ‘ब्रेक’ भएपछि घटना बलात्कारमा परिणत हुन्छ ।’

‘कानुनले नगर्नु भनेको कुरा गर्नु भनेको अपराधिक गतिविधी नै हो,’ ती अनुसन्धान अधिकृतले भने, ‘नाबालकमा मञ्जुरी भए पनि शारीरिक सम्पर्क बलात्कार नै हो ।’ उमेर नपुगिकन हुने प्रेम विवाह, सहमतिमा शारीरिक सम्पर्क भए पनि उत्पन्न हुने बाध्यात्मक परिस्थिति र अवैध सम्बन्ध बाहिरिएपछि सामाजिक प्रतिष्ठा जोगाउन गरिने प्रयास आदि कारणले पनि बलात्कार सम्बन्धी अपराध बढेको देखाएको उनको भनाइ छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले लागुऔषधको दुव्र्यसनमा फस्नेहरुले पछि गएर आफ्नो आवश्यकता परिपूर्ति गर्न ओसारपसारकै काम गर्ने र त्यहाँबाट हुने कमाई लागुऔषध सेवनमा प्रयोग गर्ने गरेको पाइएको बताए। ‘पहिलेपहिले गाउँघरमा हुने बलात्कारका घटना मेलमिलापमा टुँगो लगाइन्थ्यो,’ उनले भने, ‘अहिले मान्छे सचेत पनि भए।’ कडा कानुन र कानुन कार्यान्वय गर्ने प्रहरी प्रतिको बढ्दो विश्वाससँगै अन्यायमा परेर त्यत्तिकै बस्न हुँदैन भन्ने चेतनाको विकासले पनि बलात्कारका घटना भएमा तत्काल प्रहरीलाई खवर गर्ने तथा दोषीमाथि कारबाही अघि बढाउन पीडितले मद्धत गर्ने गरेको कोइरालाको भनाइ छ।

‘अपराधलाई सामाजिक प्रतिष्ठा र इज्जतसँग जोडेर हेर्ने प्रचलनले यस अघि धेरै जसो घटना प्रहरीमै आउँदैन थिए,’ एसएसपी कोइरालाले भने, ‘तर कारबाही हुनु पर्ने भन्ने चेतनाको विकास भएको छ।’ अधिवक्ता बालकृष्ण आचार्यले नेपाली समाज सांस्कृतिक र सामाजिक रुपमा विचलित हुँदै जाँदा बलात्कार र लागुऔषध लगायतका जघन्य प्रकृतिका अपराधिक घटना धेरै हुन थालेको बताए। विकृत मानसिकता र पहुँचका भरमा हुने अपराधमा दिइने उन्मुक्तीले पनि यस्ता घटना हुने गरेको उनको बुझाई छ। कानुनी कठोरतासँगै सबै खाले गलत हर्कत मुद्दाका रुपमा आउन थालेपछि बलात्कारका घाटना धेरै देखिएको आचार्यले बताए। पछिल्लो समय विचलित भएर मान्छेको मानसिकता अपराधतर्फ उन्मुख हुँदा पनि यस्ता अपराध हुने गरेको आचार्यले बताए।

कानुन व्यवसायीहरुले जघन्य प्रकृतिका अपराध धेरै हुनुमा राज्यले कारण खोजेर नियन्त्रणका लागि उचित कदम चाल्नु पर्ने बताउँछन्। मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ ले खुल्ला जेलको अवधारणा ल्याएको छ। पूर्वाधार तयार तयार गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्दा उपयुक्त हुने सुझाव कानुन व्यवसायीको छ। उनीहरुकाअनुसार कुनै अपराधमा कारागार परेको व्यत्तिले खुल्ला जेलमा दिनभर श्रम गर्ने वातावरण बने उसले सुध्रिने मौका पाउँछन्। त्यस वापत राज्यले उसलाई पारिश्रमिक दिनुपर्छ र त्यसबाट राज्यले पनि फाइदा लिन सक्नु पर्ने जोड कानुन व्यवसायीको छ।

प्रकाशित मिति: : 2019-11-21 16:08:12

प्रतिकृया दिनुहोस्