मन्त्रिमण्डल हेरफेरको तयारी : बालुवाटारमा निर्णायक छलफल गरेर ओली-प्रचण्ड शितल निवासमा

फाइल तस्बिर

मन्त्रीमण्डलको हेरफेरका विषयमा छलफल गरेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

‘केहीबेरअघि दुबै जना आउनुभएको हो, अहिले राष्ट्रपतिज्यूसँग भेटघाट भइरहेको छ,’ शितल निवास स्रोतले भन्यो। यसअघि मन्त्रिमण्डलमा थपिने र बाहिरिने मन्त्रीहरुको टुङ्गो लगाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो।

नेताहरुबीच कस–कसलाई मौजुदा मन्त्रिपरिषदबाट बिदा गर्ने र क–कसलाई भित्रयाउँने भन्ने विषयमा अन्तिम टुंगो लगाउने भन्नेमा निर्णायक छलफल भएपछि अध्यक्षद्वय शितल निवास पुगेको स्रोतले बिएल नेपाली सेवालाई बतायो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्। हटाउने र थप्ने मन्त्रीको नाम अन्तिम टुंगो सचिवालय बैठकले गर्ने स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए।

प्रकाशित मिति: : 2019-11-20 11:25:00

प्रतिकृया दिनुहोस्