आइतबार रातिदेखि हराइरहेको आयल निगमको ट्याङ्कर धनुषामा रित्तो फेला

फाइल तस्बिर

आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर फेला परेको छ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो।

बेपत्ता भएको ट्याङ्कर धनुषाको रामदहैया भवाडे भन्ने स्थानमा बुधबार बिहान साढे ७ बजे पार्किङ गरेको अवस्थामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बिएल नेपाली सेवालाई जानकारी दिए।

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अज्ञात समूहको अपहरणमा परेको थियो।

निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्यांकर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ।

यसैबीच निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

 

ट्याङ्करको अवस्थाबारे बुझ्न प्रहरी घटनास्थलतर्फ लागिसकेको रिजालले जानकारी गराए।

प्रकाशित मिति: : 2019-11-20 08:46:52

प्रतिकृया दिनुहोस्