भारत र बंगलादेश दुवै टिम बलिया भएकाे कारण हार्‍यौ‌ं: कप्तान मल्ल

बिएल

बंगलादेशमा भएको एसीसी इमिर्जिङ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।

समूह चरणमा नेपालले हङकङसँगको खेलमा मात्रै जित हात पारेको थियो। भारत र बंगलादेशसँग भने पराजित हुन पुग्यो। भारतको इमर्जिङ टिमसँग ७ विकेट हारेको नेपाल बंगलादेशसँग भने ८ विकेटले हारेको थियो।

कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको ब्याटिङमा धेरै कमजोरी देखिएको र अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको बताए। कप्तानी सम्हालेपछि खेलेका ६ म्याचमध्ये तीन म्याचमा ज्ञानेन्द्र रनको खाता खोल्न नसकी आउट भए। ६ म्याचमा उनको व्यक्तिगत स्कोर क्रमशः १०, ०, ६, ०, ० र २२ रह्यो। कुल मिलाएर उनले ३८ रन बनाए।

बंगलादेशबाट मंगलबार स्वेदश फर्किएका कप्तान मल्लले इमर्जिङ टिम्स एसिया कपमा पनि आफ्नो व्यक्तिगत प्रदर्शन राम्रो हुन नसकेको स्वीकार गरे।

आफ्नोसँगै टिमको प्रदर्शन पनि सोचेकोजस्तो नभएको उनले बताए। खासगरी भारत र बंगलादेशसँग नेपालको ब्याटिङ नचल्नु र बलिङ फितलो देखिनुमा उनी चिन्तित छन्।

'बंगलादेश, भारतसँग राम्रो स्कोर गर्न सकिन्थ्यो, दुवैमा ब्याटिङ राम्रो हुन सकेन । तर दुवै टिम बलिया थिए । त्यही हो हामीले प्रतिस्पर्धात्मक खेल खेल्न सकेनौँ ,'उनले भने।

उनले कुनै पनि खेल दबाबमा नखेलेको बताए। 'म्यानेजर पनि राम्रो हुनुहुन्थ्यो, उहाँले क्यान भन्दैमा हामी यस्तो कुराहरु गर्न आएको होइनौँ। अब तपाईँहरु आफ्नो खेलमा फोकस गर्नु भनेर सकारात्मक वातावरण बनाइदिनुभयो। उहाँहरुले पनि धेरै कुराहरु सुरुवातदेखि नै गरिरहनु भएको छ, आशा गरौँ आगामी दिनहरुमा अझ राम्रो हुन्छ',उनले भने।

 

 

 

प्रकाशित मिति: : 2019-11-19 15:00:22

प्रतिकृया दिनुहोस्