उदयपुरमा प्रहरी र स्थानीयबीच झडप,एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेनन्

बिएल

उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपपछि स्थानीयले चक्काजाम गरेका छन्।

एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्। झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ। सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए।

रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो।

सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो। तर छलफल नमिलेपछि नगरपालिकाले विषय टुंगो लगाउन जिल्ला प्रशासन कार्यलयलाई जिम्मा दिएको थियो।

नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेको थियो।गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ। जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ।

प्रकाशित मिति: : 2019-11-19 11:44:48

प्रतिकृया दिनुहोस्