नेकपाको बैठक: अध्यक्ष ओलीले जिम्मेवारी हस्तान्तरण गर्दै, १० जना मन्त्री फेर्ने तयारी

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक बालुवाटारमा सुरू भएको छ।

शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा बैठक डाकेका हुन्। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जिम्मेवारी पनि हस्तान्तरणका बारेमा निर्णय भइरहेको छ।

कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न लागेकाे स्राेतले बतायाे । प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ ।

त्यस्तै बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुकाे बारेमा पनि छलफल भइरहेको छ। २५ सदस्यीय मन्त्रिपरिषद्बाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलिरहेको बालुवाटार स्रोतले बतायो ।

स्रोतका अनुसार नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले र यज्ञराज सुनुवारको नाम अगाडि सारिएको छ।

यस्तै तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा छलफल चलिरहेको छ।

आइतबारको सचिवालय बैठकमा समेत त्यसबारे छलफल हुने भएको छ। यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो।

प्रकाशित मिति: : 2019-11-17 15:42:06

प्रतिकृया दिनुहोस्