आलम पक्षका वकिलहरुको बहस सकियो,सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा

फाइल तस्बिर

रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद आफताब आलमको बहस सकिएको छ।

जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताहरुले शुक्रवार बहस गरिसकेका छन्।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उधोग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ रौतहट क्षेत्र–२ का नेपाली कांग्रेसका निलम्बित सांसद महमद आफताब आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए ।

आलमको पक्षबाट अाज वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, बिनोद पटेलले बहस गरिसकेका छन्।

यसअघि पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता युगनाथ खनाल, अधिवक्ता सतिस कुमार झा, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरेले लगायत १५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

बहसपछि आलमलाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पछका लागि थुनामा पठाउने भन्ने फैसला आउने छ।

 आज फैसला हुने सम्भावना बढेपछि सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: : 2019-11-15 14:57:39

प्रतिकृया दिनुहोस्