आगामी बिहिबारदेखि वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव २०७६’ मा सहभागी हुन बलिउड अभिनेता गोविन्दा काठमाडोैं आइपुगेका छन् । उनी काठमाडौैं हुदै विहिबार वीरगञ्ज आउने आयोजकले बताएका छन् । उनी श्रीमती सुनितासँगै केही भारतीय प्राविधिक विशेषज्ञसँगै आएका छन् ।
मंगलबार त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भएका गोविन्दाले मिडियाकर्मीसँग छोटो कुरा गर्दै चलचित्र क्षेत्रबाटै निमन्त्रणा पाएर आफू दोस्रो पटक नेपाल आएको सुनाए। ‘जुन खालको माया र प्रेम तपाईहरूले मलाई दिनुभएको छ, यसका लागि म निकै नै आभारी छु,’ उनले भने। उनले अगाडि थपे, 'ससुराली देश नेपाल आउन पाउँदा खुसी लाग्यो ।'
यसअघि गोविन्दा गत वर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए।
उनकी श्रीमती सुनिता नेपाली मूलकी भएकाले गोविन्दाले नेपाललाई ससुराली देश भन्दै खुसी व्यक्त गर्ने गरेका छन्।
गोविन्दाले बिहिबार सुरू हुने कार्यक्रममा १५ मिनेटको प्रस्तुतिसमेत दिने कार्यक्रम तय भएको छ।
अभिनेता गोविन्दा आर्थिक नगरी वीरगंज आउने भएपछि उनलाई मन पराउने दर्शकहरु उत्साहित भएका छन्। खुला सीमाको फाइदा उठाउँदै भारत बिहारका दर्शक पनि उनलाई हेर्न विरगन्ज आउन आतुर छन्।
भारतीय सिने जगतमा ९० को दशकका बहुप्रसिद्ध अभिनेताको रूपमा गोविन्दा आहुजालाई चिनिन्छ।
बलिउडमा हाँस्य अभिनेताको रुपमा स्थापित गोविन्दा आफ्नो फरक नृत्य कौशलताले दर्शकहरु माझ फरक प्रशंसा बटुलेका छन्।
करिब १६५ वटा जति फिल्ममा अभिनय गरिसकेका गोविन्दाको आधा दर्जन फिल्म नेपालमै छायाकंन भएका छन्।
उनले अभिनय गरेका हिन्दी फिल्म आँखेँ, राजा बाबू, कुल्ली नम्बर वान, हिरो नम्बर वान, दुल्है राजा, बड़े मियाँ छोटे मियाँ , अनाड़ी नम्बर वान तथा बनारसी बाबु लगायतका थुपै फिल्महरु नेपाली दर्शक माझ पनि लोकप्रिय छन्।
आफ्नो पहिलो प्रेम नेपाल भएको र आफ्नी श्रीमती सुनिता आहुजा नेपाली मुलकी भएको भन्दै गोविन्दाले नेपालसँग ससुरालिको सम्बन्ध रहेको विभिन्न कार्यक्रमहरुमा भन्दै आएका छन्।
आफ्नो जीवनमा आमा र श्रीमतीको विशेष स्थान रहेको भन्दै गोविन्दाले भारत र नेपालसँगको नाता गहिरो रहेको गत वर्ष काठमाडौंमा आयोजना नेपाल एलजि सिने अर्वाडमा बताएका थिए।
निशंकोच ‘नेपालको ज्वाईँ हुँ’ भन्ने अभिनेता गोविन्दा बेला बेलामा नेपाली भाषा स्पष्ट बोलेर नेपालीको मन जित्दै आएका छन्।
आफू स्वर्णिम फिल्म महोत्सवमा सहभागी हुन वीरगंज आउन लागेको भन्ने बारेमा उनले सामाजिक सञ्जाल मार्फत नेपाली भाषामा जानकारी गराएका थिए।
महोत्सवमा करिब सवा करोडको खर्च हुने अनुमान गरिएको छ।
महोत्सवमा निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायक, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारसँग दर्शकको सहभागिता रहनेछ । भारतबाट पनि अतिथि कलाकार, लेखक तथा छायाकारको अतिथ्यता रहनेछ ।
कार्यक्रममा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मान्नधर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसीलगायत नेपाली सिने जगतकाका पुराना र नयाँ पुस्ताका दर्जनौ कलाकारको सहभागिता हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर २ का जनतासँग चलचित्रको आत्मीयता बढाउनु यो महोत्सवको मुख्य उद्देश्य रहेको नेपाल चलचित्र निर्माता संघले जानकारी दिएको छ।
महोत्सवमा स्थानीय कलाकारले पनि प्रतिभा देखाउने छन् । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको नेपाल चलचित्र निर्माता संघले जनाएको छ।
प्रदेश नम्बर २ बाट सुरु भएको यो महोत्सव सातै प्रदेशमा बर्सैपिच्छे हुने भनिएको छ।