रौतहट बमकाण्डका आरोपी कांग्रेस नेता मोहम्मद अफताव आलमविरुद्धको मुद्दाको सुनुवाइ आजको लागि सकिएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा बयान लिन सुरु गरेलगत्तै अलाम पक्षकबा वकिलहरुले आफूलाई मिसिल उपलब्ध नगराएको भन्दै नाराबाजी गरेका थिए ।
अलाम पक्षका वकिललाई झण्डै ८ सय पृष्ठ लामो अनुसन्धानको मिसिल उपलब्ध गराउन फोटोकपी गर्न समय लागेकोले बयानमा केही समय ढिलो गरि सुरु भएको थियो ।
उनको बयान भोलि १० बजेदेखि लिन सुरु हुने छ । उनको बयानसँगै पक्ष विपक्षमा बसह सुरु हुनेछ ।
पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा। युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।
सरकारी वकिलको तर्फबाट खडिन्द्रराज कटुवाल, रामप्रसाद पन्थी, सहन्यायधीवक्ता सूर्यराज दाहाललगायतले बहस गर्ने बताइएको छ ।
आलमको तर्फबाट शम्भु थापासहित २० जनाले बहस गर्ने छन् ।
प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आफ्ताब आलम, उनका भाइ महताबसहित मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै अभियोगपत्र दर्ता गरेको छ ।
अनुसन्धानको क्रममा प्रहरी र सरकारी वकिलको कार्यालयमा आलमले घटना नै नभएको भन्दै बयान दिएका छन् । उनको इन्कारी बयान पछि प्रहरीले पोलिग्राफको तयारी गरेको थियो । तर आलमले मानेनन् ।
पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।
सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ ।
उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।