क्यानेडियन सेनामा नेपाली : जल, थल र वायु सेनासम्मै

जहाँ इच्छा त्यहाँ उपाय : ‘क्यानेडियन आर्म्ड फोर्स’ मा नेपाली । तस्बिर : फाइल ।

‘नो गट्स, नो ग्लोरी’ अर्थात् ‘साहस छैन त सफलता छैन ।’

सैन्य जगतमा अमेरिकी वायुसेनाका कर्नेल फेड्रिक व्लिसेको यो भनाई निकै प्रख्यात छ । यसै शीर्षकमा उनको पुस्तकसमेत प्रकाशित छ । अमेरिकी वायुसेनामा तीन दशक बिताएका कर्नेल व्लिसे संसारबाट बिदा भइसकेका छन् । तर, उनको भनाइको सार, ‘साहस नै सफलता हो’लाई आत्मसात गर्दै सैन्य जीवन प्रवेश गर्ने युवा संसारभर छन् ।

सैन्य क्षेत्रमा के साहसले मात्रै सफलता मिल्छ ? साहस नहुने यो पेशामा भर्ती हुँदैनन् ? यी प्रश्नका उत्तर देश, काल, परिस्थितिअनुसार फरक फरक होलान् । तर, एउटा सत्य के हो भने सैनिक हुन साहस पहिलो सर्त हो । बन्दुक बोक्ने पेशा लर्तरो होइन र गोली चलाउने आँट साहसबिना असम्भवप्रायः छ ।

उत्तर अमेरिकी मुलुक क्यानडाको सैन्य पेशामा अहिले ९० हजार आवद्ध छन् । त्यसमा फुलटाइमर ६५ र पार्टटाइमर २५ हजार । यो जल, थल र वायु, तीनैवटा सैन्य पेशामा आवद्ध सिपाहीदेखि प्रधानसेनापतिसम्मको संख्या हो । यी तीनै सैन्य विभागलाई जोडेपछि बनिने सैन्य संगठनको नाम हो, ‘क्यानेडियन आर्म्ड फोर्स ।’

संख्यात्मक संरचनाका दृष्टिले संसारको ७४औं ठूलो मानिने यो फोर्समा धेरै देशबाट आएका मानिस आवद्ध छन् । किनकि, क्यानडा आप्रवासीबहुल राष्ट्र हो । तर, फोर्समा आवद्ध हुन पहिलो सर्त हो– क्यानेडियन नागरिक हुनु । दोस्रो– हाइअर सेकेण्डरी तह उत्तीर्ण (क्युवेकबाहेक) । तेस्रो– उमेर १८ बर्ष (अभिभावक मञ्जुरीमा १७ बर्ष) ।

‘शारीरिक तन्दुरुस्ती, उच्च मनोवल, दरिलो आत्मविश्वास त छँदैछन्’ भर्ती हुन चाहनेको थप योग्यताबारे क्यानेडियन आर्म्ड फोर्सको अफिसियल वेबसाइटमा उल्लेख छ, ‘चुनौतीको सामना गर्ने, शत्रुसँग लड्नसक्ने र परिस्थितिसँग जुध्न सक्नेहरु योग्य हुनेछन् ।’ यतिका मापदण्ड पार गरेर फोर्समा भर्ती भएपछि अवसर भने धेरै छन् ।

चरण चरणका परीक्षा र परीक्षण छिचोलेर फोर्समा आवद्ध भएपछि दर्जाअनुसार ३६ हजारदेखि एकलाख ४० हजार डलरसम्म बार्षिक कमाइ हुन्छ । एक सयभन्दा धेरै देशमा राहत, उद्धार र शान्ति कायम गर्न जाने अवसर मिल्छ । सिमाना जोडिएकाले अमेरिकी सैनिकसँगै तालिम र अभ्यास गर्ने अवसर त छँदैछन्, बफादारलाई अरु बग्रेल्ती मौका पनि ।

दरिलो साहस बोकेर क्यानेडियन आर्म्ड फोर्स छिर्नेमा नेपालीमूलका क्यानेडियन युवा पनि छन् । जो, आफ्नो जिम्मेवारी निष्ठासाथ पूरा गर्दै सफलताका सिँढी उक्लिँदैछन् । ‘गोर्खा सैनिक’ले कहलिएका नेपालीको पहिचान बेलायतमा जस्तो व्यापक नभए पनि यहाँको फोर्सप्रति रुचि राख्दै भर्ती हुन चाहने नेपाली भने बढ्दैछन् ।

पहिलो नेपाली अफिसर

सुधीरजंग पाँडे अनुसन्धान अधिकृत, सीबीएसए क्यानडा

मकवानपुरको हेटौडामा जन्मिएका सुधीरजङ पाँडे क्यानेडियन आर्म्ड फोर्समा अधिकृत तह पुग्न सफल नेपालीमूलका पहिलो व्यक्ति हुन् । हुनेखाने परिवारमा जन्मिएका पाँडेले काठमाडौंको दीपेन्द्र प्रहरी स्कुलमा माध्यमिक तह पढ्दैदेखि सैन्य पेशा रुचाएका थिए । त्यसमाथि आफन्तजन पनि नेपाल प्रहरी र नेपाली सेनाका राम्रै ओहोदामा थिए ।

‘एसएलसीपछि अभिभावकको चाहनामा पाइलट पढ्न रसिया पुगें तर छ बर्षपछि इञ्जिनियर भएर नेपाल फर्के’ सन् २००३ मा क्यानडा आएका पाँडेले सुनाए, ‘अटोवा आएको तीन महिनासम्म इञ्जिनियरिङ काम पाइएन, अनि सुरक्षा क्षेत्रतिर ढल्किएँ ।’ सुरुमा क्यानेडियन पुलिस बन्न चाहेका पाँडे अन्ततः सन् २००७ मा सैनिक अधिकृत भए ।

पुलिस बन्ने ध्याउन्नले मनोविज्ञान, कानुन र अनुसन्धान विधिबारे दुई बर्षे कोर्स सकेर चरण चरणका परीक्षा दिए पनि उनको नाम निस्किएन । अहिले लाग्छ, त्यसबेला जे भयो ठीकै भयो । पुलिसमा असफल हुनु नै सैन्य क्षेत्रमा प्रवेश गर्ने अवसर मिल्यो । जलसेनाको अधिकृत तहमा उनले मुख्यत नोभास्कोसिया प्रोभिन्समा आठ बर्ष काम गरे । अन्त्यमा अर्थात् सन् २०१५ मा एउटा दुर्घटना परे ।

परदेशमै रहे पनि क्यानेडियन आर्म्ड फोर्सदेखि डिटेन्सन सेन्टर र सीवीएसएमा अधिकृत तहसम्म पुग्ने पहिलो नेपाली भएकोमा सबै खुसी हुनुहुन्छ । त्यो बेला आएर मैले यत्तिको सफलता पाएँ, नयाँ आउने नेपालीले अझ राम्ररी अध्ययन र मेहेनत गरे अझ माथि पुग्न सक्छन् ।
- सुधीरजङ पाँडे

‘दुर्घटनापछि नेभीको जागिरलाई निरन्तरता दिन मन लागेन’ निको भएलगत्तै ‘रेयर्सन युनिभर्सिटी’मा ‘क्रिमिनोलजी एण्ड सोसियल जष्टिज’ पढेका पाँडेले सुनाए, ‘सुरक्षा निकायमै काम गर्न आफूलाई पढाईमा अपग्रेड गरेको थिए, लगत्तै मिल्दोजुल्दो काम गर्ने मौका पाएँ ।’ त्यसपछि उनी अटोवास्थित ‘कार्लेसन डिटेन्सन सेन्टर’मा करेक्सन अफिसरका रुपमा कार्यरत रहे ।

सुधारगृहका रुपमा विकसित गर्न खोजिएको त्यो जेलमा आठ महिना काम गर्दा नगर्दै पाँडेलाई अर्को अवसर मिल्यो । ‘अहिले अटोवामै क्यानेडियन बोर्डर सर्भिसेज एजेन्सी (सीवीएसए) को हेडक्वार्टरमा अनुसन्धान अधिकृतका रुपमा कार्यरत छु’ पछिल्लो कामबारे पाँडेले सुनाए, ‘मानव तस्करी, गैह्रकानुनी आप्रवासी र युद्धअपराधीलाई क्यानडाभित्र प्रवेश गर्न रोक्ने प्रमुख जिम्मेवारी छ ।’

नृपेन्द्रजङ र रुकमिणी पाँडेका पाँच सन्तानमध्ये कान्छा सुधीरजङ आफ्नो सफलतालाई ‘निरन्तरको प्रयास, अध्ययन र अनुशासनको फल’ मान्छन् । श्रीमती र एक छोरासहित अटोवा बस्दै आएका पाँडेका बाँकि परिवारजन नेपालमै छन् ।

‘परदेशमै रहे पनि क्यानेडियन आर्म्ड फोर्सदेखि डिटेन्सन सेन्टर र सीवीएसएमा अधिकृत तहसम्म पुग्ने पहिलो नेपाली भएकोमा सबै खुसी हुनुहुन्छ’ खेलकुदमा रुचि भएका पाँडेले सुनाए, ‘त्यो बेला आएर मैले यत्तिको सफलता पाएँ, नयाँ आउने नेपालीले अझ राम्ररी अध्ययन र मेहेनत गरे अझ माथि पुग्न सक्छन् ।’

आपतविपद्का सारथि

यशश्वी शिवाकोटी  रोयल क्यानेडियन एअरफोर्स

११ हजार नरनारीको ज्यान लिने नेपालको महाभूकम्प । क्यारेवियन क्षेत्रमा हजारौंको उठीबास लगाउने हुरिक्यान । करोडौंको वनजंगल क्षति पुर्याउने ब्रिटिश कोलम्बियाको आगलागी । र, आतंकवादको चरम रुप देखिने आइएस युद्ध । यी पछिल्ला बर्ष संसारभरका सञ्चारमाध्यमले कभर गरेका र धेरैभन्दा धेरै मानिसले थाहा पाएका आपतविपद्का दुःखद् घटना हुन् ।

तपाईंलाई पत्यार नलाग्न सक्छ, उल्लिखित सबै घटनामा पीडितको उद्धार गर्न क्यानडाबाट राहतसहित अग्रपंक्तिमा पुग्ने एक युवा नेपाली छन् । अहिले ३० बर्षको हाराहारीमा हिँड्दै गरेका उनी हुन्– यशस्वी शिवाकोटी । पुर्ख्यौली थलो झापा भए पनि शिवाकोटी जन्मिए काठमाडौंमा । त्यहींको भानुभक्त मेमोरियल स्कुलमा प्राथमिक तह पढे । सन् २००४ मा उनलाई अभिभावकले क्यानडाको टोरन्टो ल्याए ।

‘बुवा पहिल्यै अमेरिका हुँदै क्यानडा सरिसक्नु भएको थियो, नेपालबाट हामी पछि आयौं’ कम बोल्ने स्वभावका शिवाकोटीले पुराना दिन सम्झिए, ‘टोरन्टो आएपछि मिसिसागा सेकेण्डरी स्कुलमा ग्रेड ८ भर्ना भएँ र त्यहींबाट १२ कक्षा पास गरें ।’ पढाईंसँगै तेक्वान्दो खेललाई उत्तिकै प्राथमिकता दिएका उनी १२ उत्तीर्ण हुँदा ब्ल्याक बेल्ट भैसकेका थिए ।

बेसिक जिम्मेवारी टेक्निसियनको भए पनि कतै अप्ठ्यारो अवस्था आइपर्दा फोर्सले मलाई अग्रपंक्तिमा पठाउँदै आएको छ । नेपालको भूकम्प होस् वा क्यारेवियनको हुरिक्यान, इराकको युद्ध होस् या टेक्सासको आँधीबेहेरी- आपदविपदमा पुगेकै छु ।
-यशस्वी शिवाकोटी 

यशस्वीको बाटो पहिल्यै स्पष्ट थियो । अर्थात्, बाल्यकालका साथीभाइमाझ ‘भविष्यमा के बन्ने ?’ भन्ने प्रश्नमा उनको एउटै उत्तर हुन्थ्यो, ‘आर्मी बन्ने ।’ यसका पछि बुवा हरि शिवाकोटीको चाहनाले पनि ठूलै काम गरेको छ । छोरालाई आर्मी बनाउने उनको इच्छा यशस्वीलाई पनि मन पर्यो । झक्झक्याउँदै होस्टेमा हैंसे गर्ने अभिभावक भएपछि उनलाई आर्मी हुन मुस्किल भएन ।

‘१२ कक्षा सक्नासाथ मिसिसागाकै एउटा रिक्युटिङ सेन्टरमा फारम भरें’ क्यानेडियन आर्म्ड फोर्समा भर्ती हुँदाका दिनबारे उनले सुनाए, ‘लिखित, मौखिक सबै परीक्षा एकैपल्टमा पास हुँदै तालिमका लागि छनौट भएँ ।’ त्यसपछि उनी रोयल क्यानेडियन एअरफोर्सअन्तर्गत ‘एभिएसन सिष्टम टेक्निसियन’का रुपमा काम गर्न थाले ।

खासमा जहाजका बिग्रेका सामान बनाउने जिम्मेवारी भए पनि शिवाकोटीले एअरफोर्समा राहत र उद्धारका सारथिको पहिचान बनाइसकेका छन् । ‘बेसिक जिम्मेवारी टेक्निसियनको भए पनि कतै अप्ठ्यारो अवस्था आइपर्दा फोर्सले मलाई अग्रपंक्तिमा पठाउँछ’ सन् २००८ मा फोर्स भर्ती भएका शिवाकोटीले सुनाए, ‘नेपालको भूकम्प होस् वा क्यारेवियनको हुरिक्यान, इराकको युद्ध होस् या टेक्सासको आँधीबेहेरी ।’

१० बर्षे जागिरे अवधिमा उनले उत्कृष्ट कार्य गरेवापत दुई पदक पाइसकेका छन् । एअरफोर्सको बुलेटिनमा मात्र नभई अन्य मिडियामा पनि थुप्रैपल्ट कभर भइसकेका छन् । अहिले अन्टारियो प्रोभिन्समै कार्यरत छन् उनी । श्रीमती अन्ना र चार सन्तानसँग बस्छन् । आफू बसेको क्षेत्रका अस्पताल र विद्यालयमा समेत उनी स्वयंसेवा गर्छन् । रक्तदान र च्यारिटीका काममा चर्चित छन् ।

नागरिकता लिनासाथ आवेदनप्रदीप भुजेल क्यानेडियन आर्मी

झापा गोलधापमा जन्मेहुर्केका प्रदीप भुजेलको संघर्ष र सफलताको कथाले फेरि पनि पुष्टि गर्छ, लक्ष्य दह्रो छ भने कहिल्यै असफल भईंदैन । भुटानी शरणार्थीका रुपमा नेपाल छिरेका अभिभावकबाट गोलधाप शिविरमा जन्मिएका भुजेल उनै अभिभावकसँग १० बर्ष पूरा हुँदै गर्दा क्यानडा आएका हुन् । तर, त्यो कलिलो उमेरमै अर्थात् गोलधाप छँदै उनको एउटै लक्ष्य थियो रे, ‘ठूलो भएर आर्मी हुने ।’

सन् २०१० मा क्यानडा आएर भुजेल परिवार नोभास्कोसिया बस्न थाल्यो । प्रदीप त्यहींको एउटा स्कुलमा ग्रेड ६ भर्ना भए । बुवा कृष्णबहादुर र आमा टिकादेवीलाई मात्र होइन, बहिनी प्रमिलालाई पनि प्रदीपको लक्ष्यबारे पहिल्यै थाहा थियो रे । त्यसैले पहिल्यैदेखि कहिलेकाहिँ ठट्टै हुँदोरहेछ, ‘हाम्रो घरबाट पनि छिट्टै लाहुरे बन्दैछ ।’

अहिले आर्मीमा सफल हुन साहसले मात्र पुग्दैन । उच्च शिक्षा र आउट नलेज पनि उत्तिकै हुनुपर्छ । त्यसैले म थप सफलता हासिल गर्नका लागि अहिले स्थानीय इर्स्टन कलेजमा ‘सप्लाई चेन एण्ड लजिष्टिक’ कोर्स  गर्दैछु ।
- प्रदीप भुजेल

आफ्नो लक्ष्यप्रति कटिबद्ध प्रदीपमा आर्मी बन्ने हुटहुटी कतिसम्म रहेछ भने क्यानेडियन नागरिकता लिएकै दिन उनले रोयल क्यानेडियन आर्मी (थलसेना) आवेदन गरेका रहेछन् । ‘बिहान अफिस खुल्नासाथ नागरिकता लिन पुगेको थिएँ’ उनले सफलता चुम्नेबेलाको क्षण सम्झिए, ‘नागरिकता पाएपछि सिधै घर गएर कम्प्युटरबाट क्यानेडियन आर्मीमा आवेदन भरें ।’

सबै किसिमका परीक्षा, अभ्यास र तालिममा खरो उत्रिएका भुजेल असफल हुने कुरै भएन । २० बर्ष पुग्दै गर्दा गत बर्ष अर्थात् सन् २०१८ मार्चदेखि उनी क्यानेडियन आर्म्ड फोर्समा भर्ती भए । अनुशासित जीवन र शारीरिक तन्दुरुस्ती मन पर्नाले सैन्य जीवन आफनो रोजाइमा परेको उल्लेख गर्दै भुजेलले भने, ‘नागरिकता पाउन समय लाग्यो, नत्र १७ बर्षकै उमेरमा आर्मी भइसक्थें होला ।’

भर्ती भइयो, तालिम सकियो, पोष्टिङ भयो र तलब पाक्न थाल्यो । लक्ष्य त पूरा भयो तर त्यत्तिमै रोकिएनन् उनी । भविष्यमा धेरै तलव हात पार्न माथिल्लो पदमा पुग्नुपर्ने उनलाई थाहा थियो । त्यसैले अहिले आर्मीमा ‘पार्टटाइम’ काम गर्दै पढाई निरन्तरता दिँदैछन् । पछि, उनी आफूलाई आर्मीमै अफिसर तहमा उभ्याउन चाहन्छन् ।

स्थानीय इर्स्टन कलेजमा ‘सप्लाई चेन एण्ड लजिष्टिक’ कोर्स गर्दैछन् । आर्मीमा पनि उनी लजिष्टिक विभागअन्तर्गतकै इक्विप्मेन्ट अपरेटरका रुपमा गर्छन् । ‘आर्मीमा सफल हुन अहिले साहसले मात्र पुग्दैन’ नोभास्कोसियाको हालिफक्समा परिवारसहित बस्दै आएका अविवाहित प्रदीपको अनुभवले भन्छ, ‘उच्च शिक्षा र आउट नलेज पनि उत्तिकै हुनुपर्छ ।’

क्यानेडियन आर्म्ड फोर्स: जान्नैपर्ने ७ तथ्य


० क्यानेडियन आर्म्ड फोर्स सन् १९६८ मा गठन भएको हो । फोर्सको ‘कमान्डर इन चीफ’ बेलायती महारानी एलिजावेथ द्वितिय हुन् । क्यानडा बेलायतको ‘राष्ट्रमण्डल क्षेत्र’ हो ।

० क्यानडाको रक्षा मन्त्रालयअन्तर्गत नै आर्म्ड फोर्स परिचालन हुन्छ । बेलायती महारानी एलिजावेथ द्वितियको प्रतिनिधित्व जुली पायटले गर्छिन्, जो क्यानडाकी ‘गभर्नर जनरल’ हुन् ।

० भुईं अर्थात् थलमा रहनेलाई ‘क्यानेडियन आर्मी’, जल अर्थात् पानीमा तैनाथ रहनेलाई ‘रोयल क्यानेडियन नेभी’ र आकाशमा फन्को मार्नेलाई ‘रोयल क्यानेडियन एअर फोर्स’ भनिन्छ ।

० तीनवटै फोर्समा गरी करिव ९० हजार सैनिक छन् । तीमध्ये ६५ हजार नियमित हाजिर हुने खालका छन् । २५ हजार चाहिँ जगेडामा राखिन्छन् ।

० संख्याका दृष्टिले ‘क्यानेडियन आर्म्ड फोर्स’ विश्वको ७४औं स्थानमा पर्छ । यसको मुख्यालय राजधानी अटोवामा छ ।

० क्यानेडियन आर्म्ड फोर्सका लागि बार्षिक २० विलियन हाराहारी अमेरिकी डलर विनियोजन हुन्छ ।

० क्यानेडियन आर्म्ड फोर्समा महिलाको संख्या झण्डै १५ प्रतिशत छ । फोर्समा भर्ती हुन क्यानेडियन नागरिक हुनुपर्ने र १८ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: : 2019-11-05 10:14:18

प्रतिकृया दिनुहोस्