महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने

फाइल तस्बिर:बिएल

बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । 

संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । समय अभाव भएपछि आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो ।

काठमाडौँ जिल्ला अदालतमा आइतबारको बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलको बहस सकिएको छ भने महराकोर प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायी लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् ।

महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो ।

महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।

जसमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराललगायत रहेका छन् । जसमा मैनालीले मात्रै आज बहस गरेका हुन् ।
नेपाल सरकारको तर्फबाट भने आज ४ जनाले बहस गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयले तिहार बिदा परेकाले प्रतिवेदन अनुसार अभियोगपत्र तयार गरि बिहिवार अदालतमा पेस गरेको थियो ।

अब थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

महराले भने बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि ती महिलासँग टेलिफोन सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।

प्रकाशित मिति: : 2019-11-03 16:41:36

प्रतिकृया दिनुहोस्