तीन वर्षदेखि राष्ट्र बैंकमा थुप्रिए प्रतिबन्धित भारु, विज्ञ भन्छन्- कागजको खोस्टो नै भए

नेपाल राष्ट्र बैंकमा तीन वर्षदेखि थुप्रिएर रहेका प्रतिबन्धित भारु नोट सटही हुन सकेको छैन। ती नोट अब कागजको खोस्टामा परिणत भएका विज्ञहरू बताउँछन्।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्‍न निरौलाले प्रतिबन्धित नोट साट्ने सम्बन्धमा कुनै प्रगति नभएको बताए। ‘सुरुमा धेरै प्रयास गरिएको थियो,’ उनले नेपालन्युजसँग भने, ‘तर अहिले त्यसबारेमा कुनै कुरा भएको छैन।’

भारतमा पाँच सय र हजार दरका नोट प्रतिबन्ध गरिएको करिब तीन वर्ष भइसक्दा पनि नेपालमा रहेका ती दरका नोट साटिएको छैन।

नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत पटक-पटक प्रयास भए पनि भारतीय पक्षले महत्व नदिएपछि ती नोट नसाटिएका हुन्। नेपालमा करिब ८ करोड रुपैयाँ बराबर प्रतिबन्धित भारु नोट रहेका छन्।

पछिल्ला महिनामा भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्‍नै छोडेकाले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना नभएको जानकार बताउँछन्। नेपाल सरकारले प्राथमिकताका साथ पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारु पनि साट्न नसकिएको उनीहरूको भनाइ छ।

भारतका लागि नेपालजस्तै छिमेकी राष्ट्र भुटानमा रहेको भारु नोट सटही भइसक्दा पनि नेपालमा रहेको नोट साट्न नमानेकाले साटिने सम्भावना छैन। भारत सरकारले प्रतिव्यक्ति २५ हजारका दरले भुटानमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही गरिदिएको छ।

प्रकाशित मिति: : 2019-11-03 09:04:33

प्रतिकृया दिनुहोस्