प्रधानमन्त्रीले भने- अब मसँग डायलासिस वा पुनः मिर्गौला प्रत्यारोपणको मात्रै विकल्प छ

फाइल तस्बिर:बिएल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गराएका छन् ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त विरामी नभएको बताए । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए ।

अब आज वा भोलि फेरि अर्को पटक डायलासिस गर्ने चिकित्सकहरुको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ‘केही रिपोर्ट आउन बाँकी छ, त्यसपछि डाक्टरहरुले फाइनल गर्छन्’ उनले भने ।

नेकपा सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले केही रिपोर्ट आउन बाँकी भएकाले थप उपचारको बारेमा निर्णय नभएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले नै उहाँको स्वास्थ्यस्थितिको बारेमा जानकारी गराउनु भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘उहाँ स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना भएर सिकिस्त भएको अवस्था होइन।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सिकिस्त नभए पनि केही गम्भीर समस्या देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘उहाँ सिकिस्त नभए पनि स्वास्थ्यमा केही समस्या देखिरहेका कारण चिकित्सकले परीक्षण गरिरहेका छन्। त्यसका केही रिपोर्ट आइसकेका छन्। केही रिपोर्ट आउन बाँकी छन्। सबै रिपोर्ट प्राप्त भएपछि उपचारको बारे थप निर्णय हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘तपाईंहरुलाई थाहा भएकै हो। ग्रान्डीमा डायलासिस भइसकेको छ। थप उपचार सबै रिपोर्ट आएपछि मात्र हुन्छ।’

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि खाइरहेका उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।

२७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

२० भदौमा स्वदेश फर्किएका उनको स्वास्थ्यमा फेरि समस्या सुरु भयो । २ कात्तिकमा ग्राण्डी अस्पतालमा पुगेका उनको मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो ।

बुधबार फेरि अस्पताल पुगे र आकस्मिक रुपमा डायलासिस गरियो । बिहीबार दोस्रो पटक डायलासिस गरेपछि अस्पतालबाट सरकारी निवास फर्किएका थिए ।

प्रकाशित मिति: : 2019-11-02 18:08:56

प्रतिकृया दिनुहोस्