नेकपा सचिवालयको बैठक विना निश्कर्ष टुंगियो

फाइल तस्बिर:बिएल

आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक विना निश्कर्ष टुंगिएको छ ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।

पार्टीले कास्की क्षेत्र नम्बर २ मा स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने चर्चा चले पनि यसको अन्तिम टुंगो आइतबारको बैठकबाट मात्र लाग्ने भएको छ ।

करिब ३ घण्टासम्म चलेको बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको श्रेष्ठले जानकारी दिए ।

उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिए। सचिवालय बैठक आइतबार कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन।

‘कहीँबाट एक जना, कतैबाट २/३ जनाको नाम सिफारिस भएर आएको रहेछ। पार्टीले न्युनतम ३ जनाको नाम पठाउन भनेको थियो,’ श्रेष्ठले भने, ‘भोलि सचिवालय बैठक बसेर उम्मेदवार तय गर्छौं।’

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2019-11-02 14:18:13

प्रतिकृया दिनुहोस्