सुधाराेन्मुख अन्तर्राष्ट्रिय व्यापार, निर्यात बढ्दै, आयात घट्दै

काठमाडौँ, कात्तिक १६ गते । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लगातारको सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यातको आकार बढ्दो छ । आयात तुलनात्मक रूपमा घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । यसको समग्र प्रभाव व्यापार घाटा पहिलेको तुलनामा खुम्चिएको देखिएको छ ।
विभागका अनुसार असोजसम्मको कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । समग्र व्यापार नै अघिल्लो आर्थिक वर्षको असोजसम्मको तुलनामा आठ दशमलव ८६ प्रतिशतले घटेको विभागको तथ्याङ्क छ । अघिल्लो वर्ष २३ अर्ब ७४ करोड रुपियाँको निर्यात भएकोमा समीक्षा अवधिमा १४.४१ प्रतिशतले बढेर २७ अर्ब १६ करोड रुपियाँ पुगेको छ । यसबीचमा पाम तेल, गलैँचा, चियाजस्ता वस्तु प्रमुख रूपमा निर्यात भएका छन् । निर्यातको आकार बढ्दा समग्र अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा छ प्रतिशतबाट बढेर सात दशमलव पाँच प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: : 2019-11-02 08:44:05

प्रतिकृया दिनुहोस्