राजधानीका अस्तव्यस्त चोकमा सधैं एउटा अनुहार देखिन्छ।
शिरमा निलो गोलाकार टोपी, हातमा सेतो पन्जा, माथिल्लो शरीरमा पहेलो धर्सावाला ज्याकेट अनि मुखमा सिटी भिरेर खटिइरहन्छन उनी।
काठमाडौंको ट्राफिक नियम पालना गराउन दिनहुँ सडकमा खटिरहने उनलाई पहिलोपटक देख्नेले ट्राफिक प्रहरी नै ठान्छन्।
तर, उनी साँच्चिकै ट्राफिक प्रहरी होइनन्। उनी हुन्–बिनाबर्दीका नागरिक प्रहरी।
बिनाबर्दीका ट्राफिक प्रहरी अर्थात् शेखरचन्द्र राई, जो सेवाभावले ओतप्रोत छन्।
काठमाडौंको ट्राफिक जाम घटाउन र दुर्घटना न्युनीकरण गराउन १२ वर्षदेखि निरन्तर लागिपरेका छन् उनी।
उनी राजधानीका धुलाम्मे चोकमा अनवरत खटिइरहेका छन्।
सेवालाई धर्म मानी कर्म गर्ने अठोट लिएका उनलाई घामपानी धुवाँधुलो अनि राजधानीको कोलाहलले छँुदैन।
छुन्छ त केवल आफ्नै अन्तर्आत्माले, जसले उनलाई सेवा गर भनेर प्रेरित गरिरहेको छ।
ट्राफिक प्रहरीको काम उनका लागि सेवा गर्ने माध्यम बनिसकेको छ। सेवा उनको नसा–नसामा कुदिरहेको छ।
उनी कुन बेला राजधानीको कुन चोकमा हुन्छन् भन्ने पत्तै हुँदैन।