साँघुरिँदो नदीमा फैलिँदो छठ

काठमाडौं – बढ्दो सहरीकरणले उपत्यकाका नदी तथा पोखरी मिचिँदैछन्। यिनै साँघुरा नदी तथा पोखरीका किनारमा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ। परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ। एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ। त्यसको झल्को राजधानीका नदीकिनार तथा पोखरीमा देखिन्छ। आठ दशकअघि कालीमाटी टंकेश्वरको विष्णुमती नदीमा केही व्यक्तिले सुरु गरेको छठ पूजा अहिले काठमाडौं उपत्यकाका मात्रै २० भन्दा बढी स्थानमा गरिन्छ।

‘उति बेला रौनियार थरका केही मान्छे जम्मा भएर पूजा गरेको देख्थ्यौं,’ ७० वर्षीय श्यामसुन्दर उपाध्यायले ६ दशकअगाडिको छठ पूजाको सम्झना गर्दै भने, ‘हेर्ने मान्छे पनि खासै हुँदैनथे।’ १० वर्ष यता भने राजधानीका विभिन्न ठाउँमा छठ पूजा गर्ने र हेर्ने मानिसको भिड लाग्नेगरेको उनले सुनाए। उपाध्यायले भनेजस्तै यति बेला कालीमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायतका स्थान शनिबार साँझ हुने छठपूजाका लागि सिँगारिएका छन्।

प्रकाशित मिति: : 2019-11-02 08:13:38

प्रतिकृया दिनुहोस्