सिसापाङमाको टुप्पोबाट निर्मलले भने– आमा मिशन पुरा भयो- म जीवित छु

बिएल

निर्मल पुर्जा अर्थात निम्स। ३६ वर्षको उमेरमा अहिले पर्वतारोहणको दुनियामा अर्को नेपाली ब्रान्ड बन्न पुगेका छन्। गत वर्ष उनले बेलायती सेनाअन्तर्गत रोयल नेभीमा रहेको अतिविशिष्ठ फोर्सबाट एक्कासी राजीनामा दिए। उनको यो निर्णयले निम्सको घरमा खैलाबैला मच्चियो। 

उनले गत वर्ष नै बेलायती महारानीबाट एमबिई (मेम्बर अफ द अर्डर अफ द ब्रिटिश अम्पायर) प्राप्त गरेका थिए। बेलायती सेनामा धाक जमाउँदै गरेका निम्सको यो कार्य परिवारका लागि प्रियकर हुने कुरा पक्कै थिएन। त्यसैले बेलायती सेनामै रहेका उनका दुवै दाजु केही महिनासम्म उनीसँग बोलेनन्।

तर, आमाले कान्छो छोराको अभियानमा सधै साथ दिइन्। उनी आफ्नो छोराको जिद्धी स्वभाव (केही कुरामा लागेपछि फत्ते गर्ने बानी) सँग पहिलेदेखि नै परिचित थिइन। उनले छोरालाई हौसाइरहिन्। त्यसैले निम्सले ७ महिनामा पुरा गर्ने लक्ष्य राखेको विश्वको ८ हजारभन्दा माथिको १४ वटा हिमाल यसै साता ६ महिना ६ दिनमा पत्ते गरेपछि सबैभन्दा पहिलो फोन नै आमालाई गरे।

बिएल नेपाली सेवालाई शुक्रबार अन्तर्वार्ता दिने क्रममा निम्सले भावुक हुँदै भने, ‘तिब्बतको सिसापाङमाको टुप्पोमा पुगेर आफ्नो अभियान समाप्त गरेपछि मैले सबैभन्दा पहिले आमालाई फोन गरे।’

उनले आमालाई फोन गर्ने क्रममा भनेका थिए, ‘आमा मेरो मिशन सकियो। म जीवित छु।’

म्याग्दीको दानामा जन्मिएका निम्स परिवारसँगै सानोमा चितवन आएका थिए। उनको अध्ययन नै चितवनमा भएको थियो। बुवा भारतीय सेनाका लाहुरे थिए। त्यसैले लाहुरसँग एक प्रकारले खुनकै सम्बन्ध थियो। तर, उनी एकाएक पर्वतरोही कसरी बने? यसको कहानी भने रोचक छ।

सानोमा उनी ‘कोर्ष बुक’ मा तेन्जिङ शेर्पा र पासाङल्हामु शेर्पाको कहानी पढ्दै हुर्किएका थिए। तर, ३० वर्षको उमेरसम्म हिमालसँग उनको कुनै नाता थिएन। यद्यपि पानी र चिसो मौसममा युद्ध लड्न भने उनी पोख्त भइसकेका थिए।

यसै क्रममा सन् २०१२ मा उनी विश्वको सर्वोच्च हिमाल सगरमाथा हेर्न नेपाल फर्किएका थिए। यसका लागि उनी ‘ट्रेकिङ’ गए। यति बेला उनलाई हिमालले यतिसम्म सम्मोहन गर्यो, कालान्तरमा उनले बेलायती सेनाको आकर्षक जागिर नै छोड्ने निर्णय गरे।

अहिले उनको नाममा ८ हजारभन्दा माथि विश्वको १४ वटै हिमाल चढ्ने कीर्तिमान छ। यिनै कीर्तिमानधारी पर्वतारोहीसँग बिएल नेपाली सेवाका लागि नवीन अर्यालले गरेको कुराकानीः

७ महिनाको मिशन ६ महिना ६ दिनमै पुरा गर्नुभयो कस्तो अनुभव भइरहेको छ?
– जुन उद्देश्य लिएर हिडेको थिए। त्यो उद्देश्य पुरा भयो। म खुसी छु।

अन्तिम आरोहणको रूपमा सिसापाङमा चढेपछि कसलाई सम्झनु भयो?
– जति बेला हिमाल चढन सुरु गरे, त्यति बेला भावुक भएको थिए। हिमाल चढिसकेपछि पहिलो फोन आमालाई गरे। आमा मेरो मिशन सकियो। म जीवित छु भनेर।

लाहुरे बन्न हिडेको मान्छे कसरी पर्वतारोही बन्नु भयो?
– सन् २०१२ मा पहिलो पल्ट सगरमाथा हेर्छु भनेर ‘एभरेष्ट ट्रेकिङ’ मा गएको थिए। ट्रेकिङमा गएपछि मलाई एकदमै (हिमाल) चढ्न मन लाग्यो, कस्तो हुन्छ भनेर? यसपछि मलाई दोर्जे खत्री (२०१४ मा खुम्बु आइसफलमा बितेको), उहाँ नै मेरो पहिलो गुरु हो। उहाँले नै मलाई लोबुचे भन्ने गाउँमा क्रामपोन लगाउन प्रशिक्षण दिनुभयो। यही हामीले लोबुचे चढ्यौं। यसपछि मेरो हिमाल चढ्ने काम सुरु भयो।

तपाईको जागिर छोड्ने निर्णयमा परिवारको कस्तो प्रतिक्रिया थियो?
– म बेलायती सेनामा कार्यरत हुँदा हिमाल चढ्ने सौख बनिसकेको थिएन। तर, बेलायतको स्पेशल फोर्समा भएका कारण स्काई डाइभिङ, अन्डर वाटर डाइभिङ, सुटिङदेखि थुप्रै खेल खेल्नु पर्दथ्यो। मैले १६ वर्षसम्म जागिर गरे। १० वर्ष स्पेशल फोर्समै थिए। ६ वर्ष अझै जागिर खाएको भए पेन्सन आउँथ्यो, हाफ मिलियन पाउन्ड बढी। १० वर्ष त म पुरै ‘फाइटिङ स्क्वाड’ मा थिए। बाँकी ६ वर्ष ‘इन्स्ट्रक्टर’ थिए। मेरो दुई वटा दाजु पनि लाहुरे। मेरो निर्णय सुनेर उहाँहरू त मसँग बोल्नु नै भएन। मान्छे यति दुःख गरेर लाहुरे बन्न खोज्छ। त लाहुरे मात्र होइन, स्पेशल फोर्समा छस्। पहिलो नेपाली स्पेशल फोर्स सर्भिसमा जाने। अहिले आएर किन जागिर छोड्दै छस् भनेर रिसाउनु भयो। आमाले चै हिमाल चढने, डाडा डाडा चढ्ने। खतरा खतरा काम गर्ने भन्छ। कान्छो छोरा परिवार पाल्नु पर्छ भनेर होला भन्ने। तर म रोकिन। भिजन भनेको आफ्नो हो। तपाई ठूलो उद्देश्य लिएर हिड्नु भएको छ भने यस्तो कुरा त आइरहन्छ। अहिले सबैले बुझनु भयो। सबै खुसी हुनुहुन्छ।

पहिले शेर्पाले मात्र हिमाल चढ्छन् भन्थे, यो मान्यतालाई तोड्दा कस्तो अनुभव गरिरहनु भएको छ?
– त्यो कुनै तर्क होइन। शेर्पा भनेको एउटा जाती हो। नेपालको आरोहण गर्ने समुहलाई भन्छन्। अहिले तामाङ पनि चढेका छन्। गुरुङ पनि चढेका छन्। मगर पनि गाइड गर्छन्। सबैले गर्छन्। तर, अलिकति धेरै भनेको शेर्पा ‘कम्युनिटी’ छ। अहिले विभिन्न जातजातिका पर्वतारोही छन्। तर, शेर्पा भनेको एउटा ब्रान्ड भयो, अहिले। त्यसलाई मान्छेले कसरी बुझ्छ, कसरी लिन्छ। त्यसमा फरक पर्ने कुरा हो।

चढ्दा सबैभन्दा खतरा महसुस भएको हिमाल कुन हो?
– सबैभन्दा बढी दुई वटा ‘प्रोजेक्ट’ मा खतरा मोले। पहिलो अन्नपूर्ण चढेपछि तीन घण्टा पनि विश्राम नलिइ डा. को टिमलाई रेस्क्यु गर्न गए। जसले गर्दा हाम्रो धवलागिरीको वातावरण ‘मिस’ गरयौं। यसले एउटा ‘प्रोजेक्ट’ लाई ठूलो धक्का लाग्यो। मैले जागिर छोडेर, घर बेचेर आएको ‘प्रोजेक्ट’ थियो, त्यो। तर, मान्छेको जीवन जोगाउन म गए। अर्को कञ्चनजंगा हो। ८ हजार ४ सय ५० मिटरमा हामो अक्सिजन अर्कोलाई ‘रेस्क्यु’ गर्ने तिर खर्च भयो। त्यति उचाईमा अक्सिजन (अरूलाई) दिनु ठूलो जोखिम हो।

प्रकाशित मिति: : 2019-11-01 18:24:56

प्रतिकृया दिनुहोस्