तिहारको अवधिमा प्रदेश १ मा २९ जनाको मृत्यु

फाइल तस्बिर:बिएल

तिहारको अवधिमा विभिन्न घटनामा परी प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाका अनुसार सवारी दुर्घटना, आगलागी, झगडा, आत्महत्यालगायत घटनाका कारण २९ जनाको मृत्यु भएको हो ।

तिहारको अवधिमा प्रदेश १ मा ४१ वटा सवारी दुर्घटना भएका छन् । जसका कारण ६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।त्यस्तै विभिन्न जिल्लाहरुमा १४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या प्रयास गर्ने १६ जनाको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार यो अवधिमा ४ जनाको लडेर मृत्यु भएको छ ।मादक पदार्थ सेवन गरी कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

यस अवधिमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । एक जनाको डुबेर मृत्य भएको छ भने नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

प्रकाशित मिति: : 2019-11-01 14:06:45

प्रतिकृया दिनुहोस्