निवर्तमान सभामुख कृष्णबहादुर महराको अदालतको थुनछेकको प्रक्रिया शुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा महराको बयान शुरु भएको छ।
अदालतका न्यायधिश सुदर्शनराज पाण्डेको इजलासमा महराको बयान भइरहेको छ।महराको अदालतमा बयान सकिएपछि थुनछेक हुनेछ।
महरासँगको बयान सकिएपछि थुनछेक बहस प्रारम्भ हुनेछ। थुनछेक बहसको प्रक्रिया लम्बिएमा महरा शुक्रबार पनि न्यायिक हिरासतमा नै रहनेछन्।
बहस सकिएर आदेश भएमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन वा रिहा गर्न सक्नेछ।
अदालतले धरौटी वा साधरण तारेखमा रिहा गर्न सक्नेछ।पुर्पक्षका लागि थुनामा गएमा महरा सांसद् पदबाट पनि स्वतः निलम्बनमा पर्नेछन्। रिहा भएमा निलम्बन हुने छैनन्।
सरकारी वकिल कार्यालयले बिहीबार महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरेको थियो।
अभियोगपत्र अनुसार महरामाथि मुलुकी अपराध संहिताका दुई व्यवस्था आकर्षित गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसेर कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी जम्मा ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरी महराविरुद्ध मुद्दा दायर गरेको हो ।
महरालाई १९ असोजमा पक्राउ गरिएको थियो ।