'पोहरका जस्ता धान र अहिलेको जस्तो चिसो त कहिले भएन।'
माथिको उखानमा जस्तै यो वर्ष जुम्लामा जाडो बढी सकेको छ। जाडोमा कठाङ्ग्रिएका हात फुक्दै बिहान सिमी उखेलिरहेका, फापर काटिरहेका मान्छे सेरा डाबमा भेटिन्छन्। सेरा डाब चन्दननाथ गुठीको स्वामित्वको जग्गा हो। उक्त जग्गा 'हाम्रो कृषि सहकारी संस्था' ले भाडामा लिएको छ भने सहकारीबाट 'कर्णाली स्पोर्ट्स क्लबले' भाडामा लिएको छ।
स्पोर्ट्स क्लबको संरक्षक धावक हरि रोकाया छन्। हरिको क्लबमा अहिले ४० खेलाडी प्रशिक्षण लिइरहेका छन्। विश्वरुपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, रेजिना भण्डारी, दुर्ग बुढालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका खेलाडी तयार पारेको क्लबले सदैब आर्थिक संकट झेल्दै आएको छ।
'हरेक वर्ष हाम्रा खेलाडीले देश चिनाउने काम गरेका छन्,' उनले भने,'तर हामीले खेलाडीलाई खेल्ने स्थानसम्म पुर्याउन सदैव आर्थिक समस्या झेल्नु परेकाे छ।' खेलाडीलाई तालिम अवधिमा खाजासमेत उपलब्ध गराउन मुस्किल परेकाे उनकाे भनाई छ।
'समयमै विकल्प सोचिएन भने खेलाडी व्यवस्थापनमा ठूलो समस्या झेल्नुपर्ने देखिन्छ,' क्लबका अध्यक्ष सरोज शाहीले भने–समस्या समाधानका लागि हामीले सिमी, फापर, मुला, चोतो, गाजरलगायत खेती गरिएका छाैं।
गएको असारमा लगाएको सिमी र फापर यतिबेला पाकिसकेको छ। मुला, चोतो, गाजर, साग, धनिया यस अघि नै बिक्री भैसकेको छ। बाँकी रहेको बाली खेलाडी मिलेर संकलन गरिरहेका छन्। अहिले सिमी र फापरको बजार भाउँ राम्रो छ। खेलाडीले उब्जाएको अन्न बेचेर खेलाडीको खर्च धानिने र आत्मनिर्भरताको प्रयास हुने उनको अनुमान छ।
खेतीपातीमा लागेपछि खेलाडीलाई बाहिरका प्रतियोगितामा सहभागी हुन तथा तालिम अबधिमा खाजा खान सहज हुने क्लबका खेलाडी बताउँछन्।
'हामी बाहिर जाँदा भाडा र खाना खर्च तथा रेसको समयमा खाजाको व्यवस्था क्लबले गरिरहेको छ', खेलाडी सीता न्यौपानेले भनिन्,'हाम्रा साथी बाहिर पनि जान्छन्। आर्थिक समस्या हुने हुनाले खेतीपाती थालेका हौं।'
यति बेला बाहिरबाट खेलाडी जुम्लामा तालिम लिन आउने क्रम पनि बढिरहेको छ। गएको असारमा मिरा राईको पहलमा काठमाडौं र काभ्रेका खेलाडी तालिम लिएर गएका थिए।
पछिल्लो समय जुम्ला एथलेटिक्समा चर्चित बन्दै गइरहेको छ। बाहिरबाट खेलाडी जुम्लामा तालिम लिन आउने क्रम पनि बढिरहेको छ।अबको केही समयमा विदेशीसमेत तालिमको लागि आउने तयारी गरिरहेको शाहीले बताए।
पछिल्लो समय क्लबले खेती गरिरहेको जग्गामा कृषि विषय अध्ययन गरिरहेका विद्यार्थी पनि प्रयोगात्मक कक्षाको लागि आइरहेका छन्। यसै क्रममा नेपालकै जेठो कर्णाली प्राविधिक शिक्षालयले १८ महिने कृषि जेटिए पढ्ने विद्यार्थी प्रयोगात्मक कक्षाको लागि पठाएको छ। त्यस्तै जुम्लाकै अर्को दुर्गा मावि लाम्राले पनि प्लान्ट साइन्स अन्तर्गत १८ महिने कृषि जेटिए पढ्ने विद्यार्थी पठाएको थियाे।
यी दुबै शिक्षालयबाट आएका विद्यार्थी अहिले क्लबले लगाएको बाली हार्वेस्टको काम गरिरहेका छन्। उनीहरु छ महिनासम्म त्यहीँ काम गर्नेछन्। 'फापर काटिरहेका छौं। सिमी सकियो', सबै विद्यार्थीले भने', 'बेमौसमी तरकारीको लागि हट ब्याट बनाएका छौं।'
प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थीले आफू सिक्दै क्लबलाई सहयोग गरिरहेका छन्। सबै कुरा मिल्दै गयो भने राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने क्लबका सह सचिव धनराज सुनार बताउँछन्।
'खेलाडीले फिजिकल गरिसकेपछिको केही समय हामीलाई दिइरहेका छन्। यसले गर्दा खेतीपातीमा सहयोग पुगेको छ', उनले भने,‘खेलाडीलाई उत्पादनसँग नजोड्दा खर्च व्यवस्थापनमा समस्या हुने भयो। उत्पादनलाई ध्यान दिदै खेल क्षेत्रलाई जोड दिने मनसायका साथ योजना बनेको हो। हामी निरन्तरता दिने प्रयास गरिरहेका छौं।'
जाडो मौसमका लागि बेमौसमी तरकारी खेतीको तयारी भैरहेको छ भने बाँकी रहेको जमिनमा जौं खेती गर्न लागेको सुनारले बताए। क्लबले यस अघि रोकायाले उपलब्ध गराएको जमिनमा मिल संञ्चालन गरि खर्च जोड्ने मेसो मिलाएको छ।