ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ ।
बुधबार साँझ नै प्रधानमन्त्री ओलीको डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ ।
बुधबार नै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने उल्लेख गरिएको छ ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणको क्रममा बुधबार ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ’, ग्राण्डीको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति अभवा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ।’
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।
२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालियो ।
२ कात्तिकमा फेरि अस्पताल पुगे । ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका थिए तर निजी चिकित्सक डा। सिंहले नियमित स्वास्थ्य जाँच मात्र भएको बताएकी थिइन् ।
बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्किम रुपमा डायलासिस गरिएको छ ।
चिकित्सकहरुकाअनुसार किड्नीले काम गर्न छाडेपछि डायलासिस गर्ने गरिन्छ ।