काराबाओ कप: पेनाल्टीमा आर्सनललाई स्तब्ध बनाउदै लिभरपुल क्वाटरफाइनलमा

तस्बिरः एजेन्सी

प्रिमियर लिगको लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति एनफिल्डमा भएको रोमान्चक खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित समय ५–५ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा लिभरपुल बिजयी भयो ।

पेनाल्टीमा आर्सनलका लागि हेक्टर बर्लिन,माटियो गुएन्डोजी, गाब्रियल मार्टिनेली र ऐन्स्ले मैट्ल्याण्ड निल्सले गोल गरेका थिए ।तर पेनाल्टीमा डानियल सेबालोस चुक्दा आर्सनल प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

लिभरपुलका लागि पेनाल्टीमा जेम्स मिल्नर, एडम लालना, रिहान ब्रेव्स्टर, डिभोक ओरिगी र कुर्टिस जोन्सले गोल गरेका थिए ।

 पेनाल्टीअघि खेलको छैटौं मिनेटमा मुस्ताफीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ११ औं मिनेटमा लुकास ट्रोएरिराले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको २६ औं र ३५ औं मिनेटमा मार्टिनेलीले दुई गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए ।

 खेलको ५४ औं मिनेटमा मैट्ल्याण्ड निल्सले गोल गर्दा आर्सनल ४–२ ले अघि रह्यो । ५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्बरलिनले गोल गर्दै खेल ४–३ मा ल्याए । ६२ औं मिनेटमा ओरिगीले गोल गर्दा लिभरपुलले ४–४ को बराबरी बनाउन सफल भयो ।

खेलको ७० औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५–४ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५५ गोलको बराबरीमा फर्काएका थिए ।

प्रकाशित मिति: : 2019-10-31 07:34:33

प्रतिकृया दिनुहोस्