नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो ।
संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए । उनका अनुसार तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नै नेपाली टिमको कप्तानी गर्नेछन् ।
क्रिकेट संघको निलम्बन भएको गएको असोज २८ गते खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।
पारसले एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्र उपकप्तानको भूमिकामा थिए । यसअघि पारसको अनुपस्थितिमा उनले नै कप्तानी गर्दै आएका थिए ।
उनी घरेलु फ्रेन्चाइस लितपुर प्याट्रिओट्सका कप्तान हुन् । उनले पछिल्लो सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) आफ्नो टिमलाई च्याम्पियन बनाएका थिए।
नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउदैछ ।