गोवर्धन पूजा सम्पन्न भएसँगै तराई मधेशका जिल्लाहरुमा छठ पर्वको रौनक शुरु भएको छ ।
यमपञ्पकको अन्तिम दिन मंगलबार आफ्नो गाउँटोलमा बनाईएको गोवर्धन पर्वतलाई सूर्य उदाउनुभन्दा पहिले सामुहिक रुपमा भोजपुरी भाषाका पारम्परीक गीत गाएर विधिवत पुजा गर्दै सम्पन्न गरेसँगै छठ शुरु भएको हो ।छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।
कठिन ब्रतको रुपमा मानिएको छठमा हरेक सामाग्री शुद्ध र चोखो चाहिने भएकाले महिलाहरु मुख्य परिकार ठेकुवा तथा प्रसाद बनाउनको लागि गोवर्धन पूजा सकिन साथ निराहार पवित्र तथा शुद्ध चुल्हो बनाउन पहेलो माटो ल्याउने गर्छन् । चुल्होको माटो तयार गरेपछि चामलको बिशेष परिकार पिठा खाने परम्परा छ ।
पिठासँगै खेतमै गहुँ हुनेले सोहि दिन गहुँ धोई सुकाई चोखो पार्ने गर्दछन् भने आफ्नो खेतमा नहुनले बजारबाट भएपनि गहुँ ल्याउने गर्छन् ।
तराई मात्र नभई छठ हुने अन्य जिल्लाहरु लगायत विदेशमा रहेका ब्रतालु महिलाले समेत गोवर्धन पूजा गर्नु अनिवार्य मानिन्छ । सो अवसरमा दिदिबहिनीहरु पनि आफ्नो दाजुभाईको दिर्घायुको कामना गर्न पुगेका हुन्छन् । बहिनीहरुले भाईको दिर्घायुको कामना गर्द यमराजलाई गालि गर्ने गर्छन् । जसलाई श्रापनु पनि भनिन्छ । तराईका महिलाहरु भाईको आयु लामो होस् भनेर कपासले आयु जुडाएर गोवर्धन भगवानलाई समर्पित गर्छन् ।
साथै परिवारका सदस्यलाई बाहिरी दोषबाट जोगाउन पैजाको दियोले गाजल तयार गरी परिवारको सदस्यलाई लगादिने परम्परा छ । फलफुल र बजडि (सानो केराउ) सिन्दुर लगायतका पुजाका सामाग्री चढाएर सामुहिक पूजा सम्पन्न गरी पर्वतको आकृतिमाथि राखीएको माटोको भाडोलाई हलो अथवा काठले फुटाउछन् । सामुहिक पूजा सकिनासाथ महिलाहरु प्रसाद स्वरुप बजडि (केराउ) खाने गर्दछन् ।
छठपूजामा छठी मातालाई चढाउने मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भेली र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, गागल, मुला, अदुवाको बोटलगायतका फलफूल र हरियो तरकारीहरु हुन् ।
प्रसादको रुपमा ग्रहण गरिएको केराउ बिना चपाई खाए भाईको आयु लामो हुने बिश्वास रहेको छ । जसलाई भैया दुज तथा बजडि खुवाउनु पनि भनिन्छ । पुजाको विधि सकिनासाथ महिलाहरु सौभाग्यको कामना गर्दै एक अर्कालाई भोजपुरी संस्कृति अनुसार पिपा सिन्दुर लगाउदै छठ पर्वको शुभकामना दिन्छन् । यसरी सिन्दुर लगाएर छठ गर्ने ब्रतालु महिलाहरु खुल्ला ठाउँमा लस्करै उभेर छठ पर्वको पारम्पिरीक गित गाएर सूर्य देवताको अराधना गर्छन् ।
छठ ब्रतको सुरुवात
महाभारतका अनुसार द्रौपतिसहित पाण्डवहरुले अज्ञात बासमा रहँदा सो गुप्तबास सफलहोस् भनी सूर्यदेवको आराधना गरेको तथा सोही समयदेखि सत्ती अनुसुईयाले पनि पहिलो पटक पर्व मनाएपछि यसको परम्पराको थालनी शुरु भएको कथन सूर्य पुराणमा उल्लेख रहेको छ ।
छठ ब्रत्तको प्रभावले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।
गोवर्धन पूजाको तयारी
तिहारको चौथौ दिन छठ मनाउने ब्रतालुले गाईको गोबरबाट घरको मुख्य दैलोमा गोबर पर्वतको आकृति बनाउने गर्दछन् । उक्त आकृति भित्र गाई, गोठ, गोठालो, रुख तथा मध्य भागमा भगवान कृष्णसहित विभिन्न बस्तुहरुको चित्र बनाईन्छ ।
यसरी बनाईएको गोवर्धन पर्वतलाई छठको ब्रत बस्ने ब्रतालु महिलाहरुले सामुहिक रुपमा तिहारको पाँचौ तथा अन्तिम दिन विधिवत पुजा गर्छन् । जसलाई गोवर्धन पूजा भन्ने चलन छ । पौराणिक मान्यता अनुसार प्रकृतिको रुपमा मनाईने यस पूजाको आरम्भ श्री कृष्णले गरेको थिए । भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोवर्धन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद् भगवद् गीतामा उल्लेख छ ।
सोहि दिनको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलि आएको संस्कृति विद् उमां शंकर उमाशङ्कर द्विवेदी बताउछन् । हिन्दु धर्म ग्रन्थ अनुसार भगवान कृष्णलाई विष्णुको अवतार मानिन्छ र सूर्यलाई पनि भगवान विष्णुको अवातार मानिएकोले छठ मनाउने बतालु पूजामा अनिवार्य सहभागी हुन्छन् ।
हिन्दू धर्ममा गाईलाई विशेष स्थान दिएको हुँदा यस पूजामा गाईको गोबरले नै आकृतिहरु बनाईन्छ । समाजको आधारको रूपमा मानिएको गाईलाई यस दिन मिठो परिकार खुवाएर रंगिन डोरी तथा माला लगाएर सजाईन्छ । यसरी तयार पारिएको गोवर्धन पर्वतलाई साईत हेरी भोलिपल्ट पूजा सम्पन्न गरिन्छ र छठको किनमेल शुरु हुन्छ ।