विशिष्ट व्यक्तित्वको अगाडि वा पछाडि केही उपमा हुन्छन्। डाक्टर भए डा., प्राध्यापक भए प्रा., यी दुबै भए प्रा. डा. इन्जिनियर भए इआर, विद्यावारिधि भए नामको पछाडि पिएचडी हुन्छ।
पद वा पेसासँग जोडिएका सम्मान पनि हुन्छन्। जस्तो डाक्टर साप, सिडियो साप, वकिल साप, मास्टर साप, डिएसपी साप, मेजर साप र हल्दार साप। सांसद भए माननीयज्यू, मेयरज्यू र नेताज्यू। न्यायाधीश भए श्रीमान्। देउताका धामी भए नारायण गाेसाईंय आदि।
ती तमाम उपमा र सम्मानका शब्दहरु जस्तै एउटा अर्को उपमा थपिएको छ। यदि तपाईले 'कर्णालीको संक्षिप्त संस्कृति' नामको पुस्तक किन्नुभयो वा पहुँचमा हुनुभयो भने त्यसका लेखकको अगाडि दुईवटा अक्षर देख्नुहुन्छ, जो. धा.। जो. धा. पूर्णसिंह कठायत अर्थात जोतिस, धामी।
यीनै जो. धा. पूर्णसिंह कठायतद्वारा लेखिएको पुस्तक 'कर्णालीको संक्षिप्त संस्कृति' सोमवार विमोचन भएको छ।
विशेष अदालत सुर्खेतको जुम्ला इजलासका मुख्य न्यायाधीश रत्न बहादुर बाक्चनले एक विशेष समारोहमा पुस्तक सार्वजनिक गरेका हुन्। विशिष्ट व्यक्तित्व, समालोचक, लेखक, कवि, कलाकार, पत्रकारहरुको बीच विमोचीत पुस्तकको मुख्य विशेषता, यो हस्तलिखित छ। जुन पुस्तक तयार गर्न लेखकले आफ्नै हातको कलात्मक सीप प्रयोग गरेका छन्।
पुस्तक जन्मको रहस्य:
लेखक चन्दननाथ नगरपालिकाको मुटु वडा नम्बर पाँचका बासिन्दा हुन्। बजारको बसिवियालो चिया पसल हुन्। साथिभाई तथा नयाँ मान्छेहरु जमघट हुने हुनाले छलफलका मञ्च हुन, चिया पसल। नेपालमा चिया पसल, चिया चौतारीले समेत परिचित हुँदै छन् भने मधेसका लेखक तथा पत्रकार चन्दकिशोरका अनुसार चिया पासलका छलफल सूचनाका सबैभन्दा बलिया स्रोत हुन्। यी विविध फाइदाका कारण लेखक कठायत चिया पसल गैरहन्थे।
कर्णालीको प्रशिद्ध चन्दननाथ, भैरवनाथ मन्दिर पछाडिका चिया पसलमा प्रायःजसो भेटिने उनी चियागफमा खुलेर छलफल गर्ने र मनको बह पोख्ने गरिरहन्छन्। आफूले सुनेका र देखेजानेका कुरा रोचक ढंगले देउडा गीत, कविता, आहान, उखान लगायत काव्यात्मक शैलीमा प्रस्तुत गर्ने हुनाले उनका कुरा रुचिकर लाग्छन्।
उनी कर्णालीको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विषयमा गफिदा समेत उहि शैली प्रयोग गर्छन्। सत्यताको नजिक पुग्ने र रोचक शैली प्रयोग गर्ने हुनाले उनका स्रोताहरु धेरै छन्।उनको रोचक शैली, कलात्मक सीप र सृजनात्मक क्षमतालाई नियालीरहेका धेरैले उनलाई यी सबै लिपिवद्ध गर्न सुझाव दिए। विशेषतः १८४६ मा गोर्खा राज्यले आक्रमण गरिसके पछि २००७ सालसम्म कर्णालीका खासै अभिलेख नभेटिएको यस क्षेत्रमा इतिहास, कला, संस्कृति लिपिवद्ध गर्नु एक उल्लेखनीय काम हो। त्यसैलेपनि कठायतलाई धेरैले लेख्न सुझाव दिए।
उनलाई यो उपायोगी र उपलब्धिपूर्ण सुझाव दिने र बारम्बार घचघच्याइरहनेमा एक हुन, पूर्व शिक्षक तथा जिल्ला समन्वय समितिका सदस्य जयराज भारती। ‘हामीले थाहा नपाएका पुराना विषयवस्तुमा आफ्नो प्रष्ट धारणा राख्न सक्ने र कतिपय अभिलेख समेत सुरक्षित राखेको देखेकाले पुस्तक निकाल्न सुझाएको थिएँ। उहाँका अक्षर निकै सुन्दर भएकाले हातैले लेखेर किताब निकाल्नुस् भन्ने सुझाव हामी चिया गफमा भेटिने साथिहरुको हो।'
कठायत निकै सुन्दर अक्षर कुद्नमा सिपालु छन्। त्यसभन्दा बढी सन्देश दिने उनका शब्द छन्। तिनमा कर्णालीको इतिहास छ। संस्कार र संस्कृति छ। लेखकले एक वाक्यमा भने, 'यो पुस्तकको जन्मकथा चिया गफ हो।'
'पुस्तकमा कर्णालीका चर्चा छ। यहाँ आर्थिक सामाजिक, सास्कृतिक ज्ञान छ। कर्णालीको साहित्य छ। कर्णालीको सन्देश पनि छ।’ लेखक कठायतले भने,'पहिलो भएकोले कृती अहिलेको संघीयता जस्तै लथालिङ्ग छ भने कर्णाली राजमार्ग जस्तै अस्तव्यस्त छ। तर आगामी दिनमा रोचक र पठनीय बनाउने हौसला मिलेको छ।’
यी मुख्य विशेषता भएको पुस्तकमा समिक्षा गर्दै बाक्चनले कर्णालीमा स्रष्टाहरु थिपिने क्रम बढिरहेको बताए।'कर्णाली आफ्नै इतिहास, कला, संस्कृति र सभ्यताको उद्गम थलो हो।' उनले भने, 'कर्णालीको भुगोलसँग गाँसेर लेखेको किताब भावी पुस्ताको लागि लिखित प्रमाण हुनेछ।'
इतिहास र संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यले पुस्तकमा समीक्षा गरेका थिए। उनले लेखक जोतिस विद्या पढेको बताए। खस सभ्यता र संस्कृतिको सर्वोपरि विधान मस्टो संस्कृति हो। धामी प्रथा हो। मस्टो सबैतिरबाट हाम्रो रक्षक भएको मान्यता स्थापित छ। लेखक मस्टोको एउटा प्रतिनिधि पात्र धामी पनि भएकाले उनलाई जोतिस, धामी भन्न मिल्ने समेत आचार्यले थपे।
'खस संस्कृतिको अध्ययन नगरिकन नेपालको इतिहास पुरा हुँदैन।' आचार्यले भने,'हाम्रो समुदायभित्र रहेका लोक संस्कृतिलाई किताबमा प्रस्तुत गरिएको छ। पहिलो प्रयास भएकाले केही भाषिक अशुद्धता छ। तरपनि प्रयास सह्रानीय छ।'
पुस्तकको समीक्षा गर्ने क्रममा लेखक पुरिचन्द्र देवकोटाले इतिहास र संस्कृति सम्बन्धि जानकारी समेट्ने प्रयास गरिएको बताए। उनले भने,'लेखकले इतिहासबारे थुप्रै प्रमाण समेटेका छन्। इतिहास संकलन गर्ने प्रयास गज्जबको छ। पुस्तक पुरै काव्यमा छ। प्रिन्टको जमानामा हस्तलिखित प्रयास मौलिक छ भने नयाँपन झल्किएको छ। इतिहाससलाई काव्यात्मक रुपमा पस्तुत गरिएको छ। कतिपय पुराना सवाल जवाफ मज्जाले उतारिएको छ।'
त्यस्तै अर्का समिक्षक टंक महतले पुस्तकलाई संस्कार र संस्कृतिको संग्रह भएको बताए। उनले भने,'यो इतिहासको एक नयाँ पाटो हो। जुम्ला लोक संस्कृतिको धरोहर हो। लेख्नुपर्ने थुप्रै विषयवस्तु छन्। तर लिपिबद्ध गर्न नसकिएको अवस्थामा प्रकाशन महत्त्वपूर्ण कुरा हो। प्रविधिको तिव्र विकास भैरहेको अवस्थामा हस्तलिखित पुस्तक साहसिक र चुनौतिपूर्ण कार्य हो।'