धन (मूलतः पैसा) की देवी लक्ष्मी पुजिने पर्व तिहारको तयारीमा काठमाडौँको असन बजार सजिइसकेको छ। मसला, फूलमाला, मिठाईका पसल भरिभराउ भइसकेका छन्।
विगत पाँच वर्षदेखि असनमा भारी बोक्ने काम गर्छन्, मकवानपुर, फापरबारीका चन्द्रमान वाइबा। सोमबार दिउसो उनी काँधमा नाम्लो भिरेर असनचोकको एउटा पसलको सिँढीमा बसिरहेका थिए। उनलाई सोधियो– ‘तपाईंलाई कति भए पुग्छ पैसाले?’
‘मलाई त अहिले १ सय ६० रुपैयाँ भए पुग्छ,’ उनले भने, ‘भात खाएको छैन। कसैले १ सय ६० रुपैयाँ दिए कुखुराको मासु र भात खान्थेँ। हामी गरिबलाई भन्दा यस्तो प्रश्न त धनीलाई सोध्नुपर्छ। गरिबलाई त अलिकति पैसा भए पुगिहाल्छ नि। धनीलाई पो जति भए पनि पुग्दैन।’
देशकै सम्पन्न व्यावसायिक प्रतिष्ठान गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छालाई पनि सोधियो, उही प्रश्न– ‘तपाईंलाई कति भए पुग्छ पैसाले?’
उनले ठ्याक्कै यतिउति भन्ने जवाफ दिएनन्। तर, धेरै पैसा भएको दिन आफूलाई रातभरि निन्द्रा नलाग्ने बताए। ‘मलाई धेरै पैसा भएपछि रातभरि निन्द्रा लाग्दैन,’ गोल्छाले भने, ‘पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सकिएला, तर मिठो निन्द्रा किन्न नसकिने रहेछ।’ उनले पैसाको सामथ्र्यको पनि सीमा हुने बताए।