उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जना पक्राउ परेका थिए ।
पक्राउ परेका प्रत्येकले एकरएक लाख रकम बुझाएर धरौटीमा रिहा भएका छन् । कलेजले १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो असुल उपर गरी पाउँ भन्दै मुद्दा दायर गरको थियो । उनीहरुविरूद्ध अभद्र व्यवहारमा चितवन प्रहरीले मुद्दा चलाएको थियो।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरुले ५५ हजार धरौटी तिरेर तारेखमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अभियोग पुष्टि भए १० हजार जरिवाना र एक बर्ष जेल बस्नुपर्ने बताए ।
नवलपुर मध्यविन्दु नगरपालिका–९ वसन्तपुरकी ३२ वर्षीया आशा ज्ञवालीलाई दुई महिनाअघि चिकित्सकले दिएको सल्लाहअनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याइएको थियो। शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजे तिर शल्यक्रियाका लागि अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा गत कात्तिक २ गते कलेजमा मृत्यु भएको थियो ।
नाकमा समस्या भएर उपचार गर्न आएकी ज्ञवालीको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुका आफन्तले कलेजको मूल गेट, आईसीयू, सीसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका थिए ।