महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो पहिलो भेट कलकत्तामा भएको थियो। यो सन् १९४९ तिरको प्रसंग हो। म त्यतिबेला कलकत्ता विश्वविद्यालयमा कानुनको विद्यार्थी थिएँ।
कलकत्ता विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीले ‘हिमाञ्चल छात्र संघ’ स्थापना गरेका थिए। स्थापनापछि केही समय निस्क्रिय रहेको त्यो संस्थालाई हामीले नै सक्रिय बनाएका थियौं। यसका लागि नेपालका साथै दार्जिलिङ र सिक्किमका साथीहरूको विशेष योगदान थियो। म छात्र संघको साहित्यमन्त्री थिएँ। हामीले ‘हिमाञ्चल’ नामक स्मारिका पनि प्रकाशित गर्यौं। त्यही संस्थाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अभिनन्दन गर्न कलकत्तामा आमन्त्रित गरेको थियो।
महाकवि देवकोटा त्यसताका बनारसमा थिए। नेपालको राणाशासननले कविका स्वच्छन्द भाव प्रकट हुन दिइरहेको थिएन। त्यो साँघुरो, सङ्कुचित र निस्सासिलो कालखण्डमा महाकविको कल्पनाले स्वतन्त्र ढंगले उडान भर्न पाएन। त्यसैले उनी खुला आकासको खोजी गर्दै भारतमा स्वनिर्वासित जीवन बिताइरहेका थिए। बनारसबाट त्यस बेला भट्टराई–बन्धुहरूले साप्ताहिक ‘युगवाणी’ प्रकाशित गर्थे। महाकवि त्यस पत्रिकाका सम्पादक थिए।
हिमाञ्चल छात्र संघको निमन्त्रणा पाएपछि महाकवि देवकोटा ‘युगवाणी’ का संस्थापक नारायणप्रसाद भट्टराई र ईश्वर बरालका साथ कलकत्ता आए। मलाई सम्झना छ, सन् १९४९ को जनवरी १६ मा महाकविको अभिनन्दन गरिएको थियो। कलकत्ताको कलेज स्ट्रिटको महाबोधि सोसाइटीको हलमा गरिएको कविवरको अभिनन्दनमा हिन्दी तथा बंगाली साहित्यका मूर्धन्य साहित्यकारको उपस्थिति थियो। अभिनन्दनपछि कविवरले गरेको भाषण बेजोड थियो। साहित्य तथा भाषाबारे उनले अंग्रेजी भाषामा धाराप्रवाह बोलेका थिए।
भनेका थिए, ‘अब एउटा साझा विश्वभाषाको खाँचो छ।’ उनले अंग्रेजीमा भाषण गरेका मात्र होइनन्, ‘झञ्झावीर’, ‘बाघले बच्चा किन खान्छ’, ‘पाषाणकालको कविता’ शीर्षक कविता पनि सुनाएका थिए। रोचक के थियो भने महाकविले अंग्रेजी कविता तामाङ सेलोको लयमा सुनाएका थिए।
महाकवि कलकत्तामा एक महिना बसे। त्यही अवधिमा महात्मा गान्धीबारे पनि कविता लेखेका थिए। अंग्रेजी भाषामा ‘बापु’ शीर्षकका साठी वटा चतुर्दशीय पद (सोनेट्स) उनले कलकत्तामै लेखेका हुन्।
मैले उनी सधैँ मानसिक तनावमा भएको पाएँ। पहिलो भेटमै उनको मनमा कुनै न कुनै मासिक अन्तद्र्वन्द्व चलिरहेको अभाष मलाई भएको थियो। केही महिनाअघि मात्र महाकविका माहिला छोराको निधन भएको थियो। त्यसको शोक र घरको सम्झनाले होला, उनी करिब–करिब विक्षिप्त अवस्थामा थिए। कसैसँग पनि धेरै बोल्दैनथे। उदास मुडमा एक्लै बसिरहन्थे।
महाकवि कलकत्ता आएकै दिनको प्रसंग हो। म र जयनारायण गिरी पार्क सर्कसस्थित इस्लाम क्यासलको तीनतले घरमा बस्थ्यौँ। देवकोटा पनि त्यही घरमा हामीसँगै थिए। एकाएक मध्यरातमा केही खैला–बैला भयो। हामी निद्राबाट जाग्यौं। थाहा भो, मध्यरातमा देवकोटा तीनतले घरको झयालनेर पुगेर बाहिर हेर्दै रहेछन्। धन्न नारायणप्रसाद भट्टराई र ईश्वर बराको निद्रा खुलेछ। उनीहरूले देवकोटालाई बडो मुस्किलले तानेर पलङमा बसाले। केही ढिला भएको भए महाकविले के गर्थे?भन्न सकिन्थ्यो।
पलङमा बसेपछि महाकवि बर्बराउन थाले। उनले भनेका सबै कुरा बुझिएन। तर, लामो सुस्केरा हालेर भनेको एउटा वाक्य म सम्झन्छु, ‘आइ वान्ट टु डाई, आई वान्ट टु सी गड। (म मर्न चाहन्छु, म ईश्वरलाई हेर्न चाहन्छु।)’
उनको त्यो मानसिक अवस्था देखेर हामी मर्माहत भयौं। कुनै ठूलो पीरका कारण उनमा जीवनप्रति निराशा घनीभूत भएको मैले पाएँ। तर, आश्चर्य के भने त्यो घटनाको दुई दिनपछि अभिनन्दन समारोहमा कविले धाराप्रवाह भाषण गर्दा र अंग्रेजीमा तामाङ सेलो कविता सुनाउँदा उनमा मैले त्यो निराशा कतै देखिनँ। बडो उत्साह, जोस र प्रसन्नतासाथ कविता सुनाइरहेका थिए।
लाग्थ्यो–जीवनका सारा पीडा र निराशारूपी विष पान गरेर महाकवि नीलकण्ठजस्तै सारा विश्वलाई साहित्यको अमृतपान गराइरहेका थिए। अहिले त जो पनि कवि छन् तर मैले त्यस दिन महसुस गरेको थिएँ- कवि हुन कति कठिन रहेछ।
(नेपाली कांग्रेसका पूर्वनेता स्वर्गीय रामहरि जोशीको किताब ‘अँध्यारोबाट उज्यालोतिर’बाट)