नेपाल टेलिभिजनको डान्स रियालिटी सो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा आज हुँदैछ।
आर्मी अफिसर्स क्लबमा हुने रियालिटी सोको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राती ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछन्।
२०७५ साल कार्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका ७ वटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको नेपाल टेलिभिजनले जनाएको छ। काठमाडौं, विर्तामोड, इटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो।
अडिसन राउन्ड पार गर्दै आएका प्रतियोगीहरु मध्येबाट हाल ५ जना प्रतियोगिहरु अन्तिम प्रतिस्पर्धामा छन्। तिनै ५ जना अन्तिम प्रतियोगीहरुबाट एसएमएस भोटिङको आधारमा १ जना विजेता छानिनेछन्। अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिने नेपाल टेलिभिजनले जनाएको छ।
अन्तिम ५ प्रतियोगीहरुमा दाङका आकाश विक, झापाका दीलमाया लिम्बु, महोत्तरीका नेशन सुश्लिङ मगर, मकवानपुरका सन्ध्या आचार्य र पोखराका सपना धाही थापा छन्।
प्रतियोगिताको विजेताले अल्टो के १० कार पाउने छन्। फस्ट रनरअपले ५ लाख बराबरको र सेकेण्ड रनरअपले ३ लाख बराबरको उपहार प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट सात जनाले १ लाख बराबरको उपहार प्राप्त गर्नेछन्।
प्रतियोगिताका निर्णायक मण्डलमा मिथिला शर्मा, महेश गोदार र सञ्चिता लुँइटेल छन्। २०६६ सालबाट छमछमीको शुरुवात भएको हो।रासस