धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १५५ कम्पनीको ३४ लाख ८४ हजार २७१ कित्ता शेयर रु ९३ करोड ४३ लाख ९६ हजार ९७ मूल्यमा खरीद बिक्री भए ।
साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोवार रकममा भने उल्लेख्य सुधार आउन सकेन । साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क बुझाए पनि बजारले उकालोको यात्रा तय गरेको हो । साताको पहिलो दिन नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुग्यो ।
नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ओरालो लायो । सो दिन नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुग्यो । कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए ।
मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुग्यो । कूल १५५ कम्पनीको छ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोवार भए ।
बुधबार नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भयो । सो दिन नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुग्यो । कूल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरीद बिक्री भए । बिहीबार कूल १५५ कम्पनीको १२ लाख चार हजार १५ कित्ता शेयर रु ३२ करोड ७६ लाख ३२ हजार २५८ मूल्यमा खरीद बिक्री भए । यस साता दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । एनआइसी एशिया व्यालेन्स फण्डको सात करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए ।