प्रिमियर लिग: लेष्टरको ऐतिहासिक जित, भर्डी र परेजले गरे ह्याट्रिक

तस्बिरः एजेन्सी

इङ्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा लेष्टरले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई ९–० गोलको फराकिलो अन्तरले हराएको हो ।

साउथह्याम्पटनको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र आयोजे परेजले ह्याट्रिक गरे । यस्तै बेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा नै लेष्टरका लागि चिलवेलले गोल गरेका थिए । १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।


यता खेलको १७ औं मिनेट र १९ औं मिनेटमा क्रमश लेष्टरका लागि टेलिमान्स र परेजले गोल गरे । परेजले पुनः व्यक्तिगत दोस्रो गाल गर्दा ३९ औं मिनेटसम्म खेल ४–० मा पुगेको थियो । पहिलो हाफको अन्तिम तिर भर्डीले गोल गर्दै खेल ५–० मा पुर्याए ।

५७ औं मिनेटमा परेजले व्यक्तिगत तेस्रो गोल गरे । भर्डीले ५८ औं मिनेटमा व्यक्ति दोस्रो गाृल गर्दा अग्रता ७–० मा पुगेको थियो ।

यस्तै खेलको ८५ औं मिनेटमा म्याडिसनले गोल गरे । त्यसको ५ मिनेट बित्न नपाउँदै पुनःभर्डीले गोल गर्दै ह्याट्रिक पुरा गरे । जुन बेला लेष्टरले ९–० को अग्रता बनाइसकेको थियो ।

यो फराकिलो जितसँगै लेष्टरले प्रिमियर लिगमा २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको छ । प्रिमियर लिगमा पछिल्लो २४ वर्षपछि पहिलोपटक ९–० को जित निस्किएको हो ।

यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इस्प्विचविरुद्ध ९–० को जित निकालेको थियो ।

यो जितसँगै लेष्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । १० खेलबाट लेष्टरले २० अंक जोडेको छ । १८ औं स्थानको साउथह्याम्पटनको ८ अंक रहेको छ ।

प्रकाशित मिति: : 2019-10-26 07:17:33

प्रतिकृया दिनुहोस्