चर्चित र्‍यापर 'भिटेन' रिहा

फाइल तस्बिर

'भिटेन' का नामले चर्चित र्‍यापर समिर लामा घिसिङ रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहका अनुसार समिरका बुबाको जमानीमा शुक्रबार बेलुका रिहा भएका हुन् ।समिरलाई कार्तिक १३ गते कार्यालयमा बोलाइएको छ। 

यसअघि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा समिरलाई बुधबार झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी परिसर ललितपुर पठाइएको थियो ।

समिरविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने जनाएको थियो ।तर, बुबाले जमानीमा रिहा गर्न माग गरेपछि उनि रिहा भएको एसपी सिंहले बताइन् ।

समिरविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरिएको एसपी सिंहले जानकारी दिइन्।कसुर पुष्टि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । 

दुई दिनअघि मात्रै उच्छृङ्खल  'ह्याप्पी तिहार, चिसो बियर...' गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि छाडिएको थियो।

गृह मन्त्रालयले उच्छृङ्खल र समाजलाई भड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारबाही गर्ने विज्ञप्तिमार्फत सूचना समेत जारी गरेको छ ।

 

प्रकाशित मिति: : 2019-10-25 21:04:07

प्रतिकृया दिनुहोस्