आईपीएलको अक्सनमा पारस खड्काको चर्चा

तस्बिरः आईसिसि

आगामी अप्रिल १ देखि मे ३० सम्म हुने इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० को तयारी शुरू भएको छ। यस्तै खेलाडी अनुबन्धित गर्ने तयारी समेत प्रत्येक टिमले गर्न थालेका छन्। यसपटक प्रत्येक टीमले गत सिजन भन्दा बजेट समेत बढाउने तयारी गरेका छन्।

यस पटक एसोसिएट राष्ट्रका तीन बिस्फोटक खेलाडीमा सवै टीमको नजर परेको भारतीय सञ्चार माध्यम स्पोटर्स क्रिडाले प्रकाशन गरेको छ।

फ्रेन्चाइजी खेलमा बिस्फोटक ब्याटिङ गरेका तीन ब्याट्सम्यानमा नेपालका निवर्तमान कप्तान पारस खड्काबारे समेत चर्चा गरेको छ। दोस्रो नम्बरमा खड्कालाई राख्दै लेखेको छ, ‘यी तीन खेलाडी आफ्नो टीममा पार्न टोलीले करोडौं खर्च गर्न सक्छन्।’

१. हजरतुल्लाह जाजई (अफगानिस्तान)

अफगानिस्तानका बिस्फोटक ब्याट्सम्यानका हजरतुल्लाह जाजाईमाथि आइपिएलमा बोली बढाबढ हुने सम्भावना छ।

२१ वर्षीय युवा ओपनिङ ब्याट्सम्यान जाजईमाथि पनि आईपीएलका सवै टीमकै नजर परेको विश्लेषण गरिएको छ। जाजईले सन् २०१९ को शुरुमै आयरल्याण्ड बिरुद्धको टी–२० खेलमा ६२ बलमा १६२ रनको बिस्फोटक ब्याटिङ गरेका थिए।

यस क्रममा उनले १६ छक्का र ११ चौका प्रहार गरेका थिए। उनले अहिलेसम्म कुल ४१ टी२० खेलमा १५७.५८ को स्ट्राइक रेटमा १३१९ रन बनाइसकेका छन्। जसमा दुई शतक र ६ अर्धशतक शामिल छन्।

२. पारस खड्का (नेपाल)

आइपिएल सम्भावनाको दोस्रो नम्बरमा नेपालका निवर्तमान कप्तान पारस खड्काको चर्चा गरिएको छ। दश वर्ष लामो कप्तानी भूमिकाबाट राजीनामा दिएका खड्काले ११ असोजमा मात्रै सिंगापुर बिरुद्धको खेलमा विश्व कीर्तिमानी ब्याटिङ गरेका थिए।

खड्काले ५२ बलमा १०६ रन जोडे आईपीएलका सवैजसो टीमको नजर खड्का माथि गएको छ। सिंगापुर बिरुद्धको खेलमा लक्ष्य पछ्याउने क्रममा सतक प्रहार गर्ने विश्वकै पहिलो कप्तानको कीर्तिमान बनाएका थिए ।

५० टी–२० खेलेका खड्काले एक सतक र सात अर्धसतक सहित १२३.६३ को स्ट्राइक रेटका साथ १२२४ रन प्रहार गरेका छन्। यस्तै बलिङसमेत गर्ने पारसले २५ विकेट पनि लिइसकेका छन्।

३‍. हेनरी जर्ज मुन्से (स्कटल्याण्ड)

स्कटल्याण्डका हेनरी जार्ज मुन्सेलाई यसपटक आइपिएलमा राख्न सकिने ठूलो एसोसिएट खेलाडीको रूपमा तेस्रो नम्बरमा राखिएको छ। २६ वर्षीय ओपनर मुन्सेले गत महिना नेदरल्याण्ड बिरुद्ध ५६ बलमा १२७ रन जोडेका थिए। त्यस क्रममा मुन्सेले १४ छक्का र पाँच चौका प्रहार गरेका थिए।

अहिलेसम्म ३८ टी २० खेलमा १६५.७७को स्ट्राइक रेटमा ९८८ रन बनाइसकेा छन्। जसमा एक शतक र चार अर्धशतक समावेस छन्। एसोसिएट देशका यी खेलाडीको प्रदर्शनलाई लिएर यस पटक आइपिएलको लिलामीमा उनीमाथि टिमले नजर लगाउन सक्छन्।

प्रकाशित मिति: : 2019-10-25 10:01:50

प्रतिकृया दिनुहोस्