शनिबार, १२ सेप्टेम्बर २०२६

एसीसी प्रिमियर कपः यूएईलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा छनोट

News Image
• • •

नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको च्याम्पियन बनेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। जितसँगै नेपाल २०२७ मा बंगलादेशमा हुने एसिया कपमा छनोट भएको छ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएईले ४९.२ ओभरमा २६८ रन बनाउँदै अलआउट भयो। 

यूएईका लागि ब्याटिङमा राहुल चोपडाले शतकीय पारी खेले। त्यस्तै शोहैब खानले ५२, तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ रन बनाए।

बलिङमा नेपालका करण केसीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेले। शेखले १०२ रन  बनाउँदा गुल्सन झाले ५२ रनको अर्थशतकीय पारी खेले। त्यस्तै अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन र बसिर अहमदले १५ रन बनाए।

बलिङतर्फ यूएईका इबरार अहमदले चार विकेट लिए। यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले समान एक–एक विकेट लिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!