बिएल संवाददाता
संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भनाभन भएको छ।
खनिज उत्खनन् र प्रयोगसम्बन्धि एउटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्न आफैले बोलाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले अपमान गरेर फर्काएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूमाझ उनीहरूबीच निकै चर्काचर्की र भनाभन भयो। ह्वाइटहाउस प्रवेश गर्दा जेलेन्स्कीलाई पत्रकारहरूले उनले लगाएको लुगाका बारेमा प्रश्न गरेर होच्याएका थिए। जेलेन्स्कीले सधैंजस्तो सैन्य चरित्र झल्किने टिसर्ट र पाइन्ट लगाएका थिए।
पत्रकारहरूले ‘यो ड्रेसअपले हाम्रा राष्ट्रपतिको अपमान भएको जस्तो लाग्दैन? तपाईंले किन सुट लगाउनुहुन्न?’ भन्नेजस्ता प्रश्न गरेका थिए।
जवाफमा जेलेन्स्कीले रुससँगको युद्ध नसकिएसम्म आफूले यस्तै सांकेतिक कपडा लगाउने बताएका थिए। लगत्तै उनलाई स्वागत गर्दै ट्रम्पले पनि ड्रेसअपका कुरा गरेका थिए।
बैठककोठामा वार्तामा बस्नासाथ उपराष्ट्रपति भेन्सले पनि त्यही कुरा उठाउँदै उनलाई र्याख्खर्याख्ती पार्न खोजे।
सुरुवाति कुराकानी बहस हुँदै विवादमा परिणत भएपछि जेलेन्स्कीले पनि ट्रम्प अनि उनका उपराष्ट्रपतिलाई डटेर जवाफ दिए।
ट्रम्पले जेलेन्स्कीलाई ‘तृतीय विश्वयुद्ध निम्त्याउन खोजेको’ अनि रुससँग शान्ति सम्झौता नगरेमा अमेरिकाले सहयोग नगर्ने चेतावनी दिए।
जेलेन्स्कीले अमेरिका आफैले आफ्ना समस्याहरू समाधान गर्न नसकेको भन्दै आफू शान्ति प्रक्रियाबाट कहिल्यै नभागेको र सधैं शान्ति नै चाहेको भन्ने जवाफ दएका थिए।
विवाद चर्किंदै गएपछि खनिज सम्झौता हुन सकेन र त्यसपछिको पत्रकार सम्मेलन पनि रद्द गरियो। विवादकै बीचमा उनलाई अपमानजनक तरिकाले ह्वाइट हाउसबाट बाहिरिन भनिएको थियो।
यो विवाद र चर्काचर्कीपछि ट्रम्पले उल्टै जेलेन्स्कीमाथि कैयौ आरोपहरू लगाउँदै युक्रेन शान्तिका लागि तयार नभएको भनेका छन्। उनले ह्वाइट हाउसमै जेलेन्स्कीलाई ‘दोस्रो विश्व युद्धमा जुवा खेलेको’ अनि ‘करोडौं मानिसको जीवनमाथि जुवा खेलेको’ आरोप लगाएका थिए।
‘भेटघाटका क्रममा कैयौँ धेरै कुरा भएका छन्। तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनकि अमेरिका त्यसमा संलग्न छ। मलाई अरू कुनै फाइदा चाहिएको छैन म त केवल शान्ति चाहन्छु’ उनले भनेका छन् ‘अमेरिकाको अपमान गरेका छन्। यदि उनी शान्ति चाहन्छन् भने फेरि यहाँ आउन सक्छन्।’
जेलेन्स्कीले पनि समाजिक सञ्जालमा घटनाबारे लेख्दै युक्रेन शान्ति प्रक्रियाबाट कहिल्यै नभागेको र सधैं शान्ति चाहेको बताएका छन्। ‘धन्यवाद अमेरिका तिम्रो समर्थनका लागि, धन्यवाद यो भ्रमणका लागि। धन्यवाद अमेरिकी राष्ट्रपति, कङ्ग्रेस र अमेरिकी जनता। युक्रेन केवल र केवल शान्ति चाहन्छ अनि हामी त्यसैका लागि काम गरिरहेका छौं’ उनले भनेका छन्।
ट्रम्पले अमेरिकी सहयोगबिना युक्रेनले कहिल्यै युद्ध नजित्ने भन्दै जेलेन्स्कीलाई बेस्सरी झपारेका पनि थिए।
‘युक्रेन यतिखेर ठूलो सङ्कटमा छ। तपाईँहरू यो लडाइँ जित्न सक्नुहुन्न। तर यदि तपाईँ हामीसँग हुनुहुन्छ भने लडाइँबाट बाहिरिने मौका तपाईँसँग छ’ उनले भनेका थिए ‘हामीले तपाईँहरूलाई ३५० अर्ब डलर दिएका छौँ। सैन्य उपकरण दिएका छौँ। यदि हामीले सैन्य सहायता दिन छोड्यौँ भने यो लडाइँ दुई सातामै सकिन्छ। यदि म यदि म तपाईँहरू (युक्रेन र रुस) लाई एकसाथ उभ्याउन सकिनँ भने तपाईँ कहिल्यै सम्झौता गर्न सक्नुहुन्।’
यो घटनापछि विश्वका कैयौं राष्ट्रहरूले प्रतिक्रिया दिएका छन्। युरोपेली राष्ट्रहरूले युक्रेनको समर्थन गर्दै अमेरिकी रबैयाको आलोचना गरेका छन्। 
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ‘रुसले अवैधानिक र अनुचित तरिकाबाट युक्रेनमाथि आक्रमण गरेको’ भन्दै उसको समर्थन जनाएका छन्। ‘तीन वर्षदेखि युक्रेन आफ्नै साहस अनि जवाफी कारबाहीसहित रुससँग लडिरहेको छ। युक्रेनको लडाईं लोकतन्त्र, स्वतन्त्रता अनि सम्प्रभुताका लागि हो। र यो एउटा त्यस्तो लडाईं हो जसले पूरै विश्वका लागि कुनै न कुनै अर्थमा महत्व राख्दछ।’ 
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले पनि युक्रेनको समर्थन गरेका छन्। 
‘तीन पहिला सुरु भएको यो लडाईंमा हामीले युक्रेनलाई सहयोग गरेर सही गरेका थियौं र आगामी दिनमा पनि यो निरन्तर रहनेछन्’ उनले भनेका छन्। 
पोल्याण्डका प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ‘युक्रेनी मित्रहरू तपाईंहरू एक्लो हुनुहुन्न। स्पेन तपाईंहरूको साथमा छ।’
नर्वेका प्रधानमन्त्री जोनासगर स्टोटरले ‘यो युद्धमा युक्रेन अनि शान्तिको पक्षमा’ रहेको उल्लेख गरेका छन्।
र याे पनि
युक्रेनसँग के त्यस्तो खनिज छ, जसका लागि ट्रम्प मरिहत्ते गरिरहे?
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया