शुक्रबार, ३० अक्टोबर २०२६

विश्वप्रकाशलाई कांग्रेस झन्–झन् तरुण बन्दै गएको अनुभूति

News Image
• • •

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन्।

बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताए।

उनले भने, ‘केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूले शपथ लिँदै गर्दा नेपाली कांग्रेस तन्नेरी नेपाली कांग्रेस, स्वयं आफैंमा तरुण, तरुण बन्दै गएको अनुभूति भएको छ। हामीले जहिले पनि द्वन्द्व प्रभावितको कुरा हामी बसेर गर्‍यौं। तर स्वयं प्रभावितहरू अहिले यहाँ केन्द्रीय कार्यसमितिमा निर्वाचित भएर आउनुभएको छ। हामीले सहिद परिवारको कुरा गर्‍यौं, प्रजातन्त्र सेनानीको कुरा गर्‍यौं। पेसा र व्यवसायको कुरा गर्‍यौँ। तर अहिले त्यो सम्बन्धित क्षेत्रका व्यक्तित्वहरू नै यहाँ नेतृत्वमा आउनुभएको छ।’

शर्माले नेपाली युवाको चाहना बुझ्न संवाद गर्दै आएको कांग्रेसमा अहिले युवाकै प्रतिनिधित्व बढेको बताए। उनका अनुसार ३५ वर्षमुनिका ३५ हजारभन्दा बढी युवा विभिन्न तहमा निर्वाचित भएर आएका छन्।

‘हामीले नेपाली युवाहरू के चाहन्छन् भनेर संवादहरू गर्‍यौं। तर अहिले नेपाली युवाहरूकै प्रतिनिधित्व गर्दै ३५ हजारभन्दा बढी युवाहरू विभिन्न तहमा ३५ वर्षमुनिका निर्वाचित भएर आउनुभएको छ र केन्द्रीय समितिमा आउनुभएको छ,’ उनले भने।

उनले यसपटकको महाधिवेशन अघिल्लो महाधिवेशनको तुलनामा बढी जटिल र चुनौतीपूर्ण रहेको उल्लेख गरे।

उनले कांग्रेसको ऐतिहासिक विरासतलाई जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने संकल्प नयाँ नेतृत्वले गर्नुपर्ने बताए।

‘जुन कालखण्डमा नेपाली कांग्रेसको परिकल्पना भयो, त्यो कालखण्डमा यो हलमा रहेका हामी कोही जन्मेकै थिएनौं। नेपाली कांग्रेसले त्यो बेलामा देशका लागि सुरु गरेको इतिहासको त्यो यात्रा तपाईं–हाम्रो काँधमा आइपुग्दै गर्दा हामीले गह्रुँगो जिम्मेवारी अनुभूति गर्नुपर्छ,’ उनले भने।

उनले पार्टीको इतिहासप्रतिको गर्वलाई वर्तमानको जिम्मेवारीसँग जोड्दै आगामी दिनमा कांग्रेसलाई अझ जिम्मेवार र प्रभावकारी बनाउने दायित्व नयाँ नेतृत्वको काँधमा रहेको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!