बिहिबार, २९ अक्टोबर २०२६

इनमसँग ‘नाम जोडिएपछि’ प्रधानन्यायाधीशको आपत्ति

News Image
फाइल तस्बिर
• • •

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुससम्बन्धी विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले केही सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर प्रकाशित समाचारप्रति आश्चर्यचकित र स्तब्ध भएको बताएका हुन्।

प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद एवं पूर्व एआईजी विश्वराज पोखरेलको नाममा अमेरिकामा ‘घुस’ फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण लगायतका शीर्षकमा प्रकाशित समाचारमा उल्लेखित व्यक्ति र प्रसङ्गमा आफ्नो कुनै संलग्नता नरहेको उनले स्पष्ट पारेका छन्।

उनले आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण अनुरोध गरेका छन्।

बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै शर्माले भनेका छन्, ‘आज दियो पोष्ट भन्ने सञ्चारमाध्यममा मेरो नाम समेत जोडी ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’: फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु। ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहिल्यै भेटेको पनि छैन। उक्त प्रसंगमा उल्लिखित मिति November, December, January मा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ। यसरी आधारहीन, झूटा, कपोलकल्पित र जनतामा भ्रम हुने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!