मङ्गलबार, २७ अक्टोबर २०२६

ओलीको व्यंग्यः पार्वतीको श्रापपछि देवता जन्मिन छाडेका थिए, अहिले नक्कली भगवान जन्मिएर हैरान छ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिबेला ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको भए पनि यतिबेला नक्कली भगवान जन्मिन थालेको व्यंग्य गरेका हुन्।

त्यसक्रममा ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरे।

पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको टिप्पणी ओलीको छ।

उनले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको पनि दाबी गरे ।

‘…२२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवानहरू छ्यापछ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटी जन्मिए, धन्न पार्वतीले श्राप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन्। पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने श्राप दिइन्। अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू। अब देवता, बढी देवता जन्मिँदैनन्। तर पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ। हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने, त्यस्तो चलन छ।’

अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने ओलीको भनाइ छ। यसलाई नै आधार बनाएर हिड्नुपर्ने उनले बताए।

उनले भने–

‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौं। त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट। यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम। यो गर, यो नगर। यम, नियम भनेको त्यो। हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिंड, सबैको सुरक्षा भन्छ। अस्तेय, अर्काको सम्पत्तिमा लोभ नगर। आफ्नो हकको, जायज हकको चिजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ। हामीले खोजेकै त्यही त हो नि।’

‘तर यसमा के छ भनेदेखि यहाँ आइपुग्दाखेरि योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ। त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन। सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन। आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन्। बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख। शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!