बुधबार, १८ नोभेम्बर २०२६

सहकारी ठगीमा ढोरपाटनका मेयरलाई ८ वर्ष कैद सजाय

News Image
• • •

जिल्ला अदालत कास्कीले सहकारी ठगी कसुरमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासको फैसलअनुसार पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीलाई कैदसहित १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दिएको हो।

फैसलाअनुसार सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना तोकिएको छ।

सहकारीका सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना तोकिएको जिल्ला अदालत कास्कीका अधिकृत तारानाथ पोखरेलले बताए।

फैसलाको पूर्णपाठ तयार हुन बाँकी रहेको अदालत प्रशासनले जनाएको छ।

सहकारीका ११० जना बचतकर्ताले सहकारीबाट बचत रकम फिर्ता नपाएको भन्दै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो दाबी गर्दै १५ जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेका थिए। सोही जाहेरीका आधारमा अदालतले फैसला सुनाएको हो। 

यसअघि नेपालीसहित सहकारीका सञ्चालकविरुद्ध ५२४ जना बचतकर्ताले ५७ करोड ३५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेका थिए। तर, नेपालीसहित सञ्चालकहरूले ४०० जना बचतकर्तासँग मिलापत्र गरेपछि उनीहरूले जाहेरी फिर्ता भएको थियो।

मिलापत्र हुन नसकेका ११० जना बचतकर्ताले पूरक अभियोगका रूपमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा अदालतले फैसला गरेको हो।

बागलुङमा परेको जाहेरीका आधारमा जिल्ला अदालत बागलुङमा भने छुट्टै मुद्दा विचाराधीन छ।

सहकारी ठगीको अभियोग लागेपछि करिब डेढ वर्षसम्म फरार रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी गरेको थियो।

०८१ असोज ११ गते भारतबाट पक्राउ गरी नेपाल ल्याएका उनी अहिले जिल्ला अदालत बागलुङको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्।

नेपाली नेकपा एमालेबाट ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

इमेज सहकारी खोल्नुअघि जीबी राई सञ्चालक रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष थिए। राईसँग कुरा नमिलेपछि सूर्यदर्शन छोडेर आफ्नै छुट्टै इमेज सहकारी खोलेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!