मङ्गलबार, २७ अक्टोबर २०२६

लुम्बिनीमा आनीको विरोध गर्दै आएका दुईजना अगुवा पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं।
News Image
• • •

लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध अभियान सुरु गरेका दुईजना अगुवालाई प्रहरीले मध्यरातमा पक्राउ गरेको छ। 

उनको नियुक्तिको विरोध गर्दै आन्दोलन सुरु गरेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान र वाविउद्दिन मुसलमानलाई प्रहरीले सोमबार राति घरमै सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। ६१ वर्षीय खानको अगुवाईमा आनीलाई लुम्बिनीमा प्रवेश निषेधसमेत गर्नेगरी आन्दोलनको सुरुवात भएको थियो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार उनिहरूलाई ‘शान्ति सुव्यवस्था खलबल्याउनेगरी उच्छृंखल गतिविधि’ गरेको आरोपमा पक्राउ गरिएको हो। यद्यपि उनिहरूविरुद्ध कुनै उजुरी भने परेको थिएन। हाल उनिहरूलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको प्रहरीले जनाएको छ। 

गत असोज ३० गते मन्त्रिपरिषदको बैठकले आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। त्यसपछि विभिन्न अपचलनहरूमा जोडिएको र सरकारलाई आवेदन नै नदिएकी आनीलाई नियुक्त गरिएको भन्दै खानको नेतृत्वमा लुम्बिनी बचाउ महाअभियानले निरन्तर विरोधका कार्यक्रमहरू गर्दै आएको थियो। सोमबार दिउँसोमात्रै उनिहरूले लुम्बिनीको पर्साचोकमा संस्कृति तथा  पर्यटन मन्त्री गनेश पौडेलको पुत्ला दहनसमेत गरेको थियो।

महाअभियानसँगै कपिलवस्तु तिलौराकोट संघर्ष समिति, लुम्बिनीवासी प्रदेश सांसद र पूर्व मन्त्री चन्द्रकेश गुप्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राष्ट्रिय जेनजी नागरिक अभियान लगायतले विरोध गर्दै आएका छन्। उनिहरूले सोमबार काठमाडौंको माइतीघरमा समेत प्रदर्शन गरेका थिए। 

आनीमाथि लागेका नागरिकता प्राप्तीको मुद्दा, विदेशबाट प्राप्त करोडौं रकमको बैधताजस्ता विषयहरूमा निष्पक्ष छानबिन हुनुपर्ने र तत्काल नियुक्ति बदर गर्नुपर्ने माग गर्दै स्थानीयले चरणवद्ध विरोधका कार्यक्रमहरू गर्दै आएका छन्। 


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!