सोमबार, २६ अक्टोबर २०२६

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

News Image
• • •

संसदीय सुनुवाइ समितिले न्याय परिषद्‍बाट सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ।

गत २० असोजमा बसेको परिषद्को बैठकले उच्च अदालतका पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। 

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सोमबार सूचना प्रकाशित गरेर १० दिनभित्र उजुरी दिन आह्वान गरेपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढेको हो।

‘… देहाय बमोजिमका व्यक्तिलाई देहाय बमोजिमको पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित शिष्ट र मर्यादित भाषामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा भनिएको छ।

सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने छ। उजुरीकर्ताले चाहेमा भने आफ्नो नाम गोप्य राख्न सक्नेछन्।

प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी प्राप्त भएपछि संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुने छ। सुनुवाइ पछि समितिले अनुमोदन गरेमा प्रस्तावित न्यायाधीशहरू सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!